काठमाडौं। डोनाल्ड ट्रम्पले अमेरिकामा सत्ता सम्हाल्नेबित्तिकै धेरै निर्णयले विश्वमा हलचल मच्चाएको छ। पछिल्लो मुद्दा अन्य देशमा लगाइएको ट्यारिफका बारेमा हो।
ट्रम्पले हालै क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा नयाँ कर लगाएका छन्। ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर क्यानडा र मेक्सिकोबाट आउने सबै सामानमा २५ प्रतिशत ट्यारिफ लगाउनेछ। त्यसैगरी चीनबाट आउने सामानमा १० प्रतिशत भन्सार लाग्ने बताइएको छ।
ट्रम्प र उनका समर्थकले अवैध आप्रवासन र लागूऔषध तस्करी रोक्न यी देशलाई दबाब दिने उद्देश्यले यो कदम चालेको विश्वास गर्छन्। साथै, करहरु ट्रम्पको आर्थिक रणनीतिको हिस्सा हो। यो कदममार्फत उनले अमेरिकी अर्थतन्त्र विस्तार, अमेरिकी जनताको हितको रक्षा र रोजगारी बढाउनमा जोड दिइरहेका छन्।
चुनावी अभियानका क्रममा पनि ट्रम्पले यी कर ‘तपाइँका लागि खर्च हुने छैन, यो अर्को देशका लागि खर्च हुनेछ’ भनेका थिए। तर, ट्रम्पको यो निर्णयलाई लिएर विश्वका धेरै अर्थशास्त्रीले आश्चर्य व्यक्त गरेका छन्। ट्रम्पको यो कदम अन्य देशका लागिमात्र हानिकारक नभएर आमअमेरिकीका लागि पनि ठूलो खतरा भएको उनीहरु ठहर छ।
अमेरिकामा बढ्न सक्छ महँगी
यदि सरल भाषामा बुझ्ने हो भने ट्यारिफ एक घरेलु कर हो, जुन अन्य देशबाट सामानहरु देश प्रवेश गर्दा लगाइन्छ। उदाहरणका लागि यदि कारको मूल्य ५० हजार डलर छ र त्यसमा २५% ट्यारिफ छ भने त्यो कारमा १२ हजार ५०० डलर शुल्क लाग्नेछ। विशेष कुरा के हो भने यो महसुल सामान आयात गर्ने स्वदेशी कम्पनीले तिर्छ। यस अर्थमा यो घरेलु अमेरिकी कम्पनीहरुले अमेरिकी सरकारलाई तिर्ने प्रत्यक्ष कर हो।
जानकारीका अनुसार सन् २०२३ मा अमेरिकाले करिब ३.१ ट्रिलियन डलरको सामान आयात गरेको थियो। जुन अमेरिकी जीडीपीको करिब ११ प्रतिशत थियो। यी शुल्कले त्यो वर्ष ८० अर्ब डलर उत्पन्न गर्यो। जुन कुल अमेरिकी कर राजस्वको लगभग २ प्रतिशत थियो।
अमेरिकीहरुको बढ्नेछ कठिनाइ ?
प्रश्न उठ्छ कि ट्यारिफको बोझ अमेरिकीहरुमा कसरी झर्छ ? यदि अमेरिकी आयातकर्ता कम्पनीहरुले ट्यारिफ लागतका कारण आफ्ना वस्तुहरुको मूल्य बढाएमा बोझ अमेरिकी उपभोक्तामा पर्नेछ। यदि अमेरिकी आयातकर्ता कम्पनीले यो लागत आफैँ व्यहोर्छ र उपभोक्तालाई हस्तान्तरण गर्दैन भने यो अमेरिकी कम्पनीहरुमा आर्थिक बोझका रुपमा देखा पर्नेछ।
धेरै अर्थशास्त्रीले आफ्नो प्रतिवेदनमा भनेका छन् कि अमेरिकी उपभोक्ताले ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२०) को समयमा लागू गरिएको करको अधिकांश आर्थिक बोझ बोकेका थिए। उदाहरणका लागि चिनियाँ आयातमा ट्यारिफले इलेक्ट्रोनिक्स, मेसिनरी, खेलौना र घरायसी सामानको मूल्य बढाउन सक्छ।
कोलम्बिया युनिभर्सिटीका नोबेल पुरस्कार विजेता प्रोफेसर जोसेफ स्टिग्लिट्जका अनुसार यी शुल्कको प्रभाव अमेरिका र विश्वका लागि धेरै नकारात्मक हुनेछ। यसले स्पष्ट रुपमा महँगी बढाउँछ।
क्यानडा र मेक्सिकोबाट आयात गरिएका कार र अटो पार्टपुर्जाहरुमा ट्यारिफहरु लागू गर्दा अमेरिकामा कारको मूल्य बढ्न सक्छ र यो वृद्धिले कार खरिदकर्तालाई मात्र नभई यस उद्योगका कामदारलाई पनि असर गर्न सक्छ।
सन् २०१८ को उदाहरण
उदाहरणका लागि ट्रम्पले २०१८ मा वासिङ मेसिनहरुमा ५०% ट्यारिफ लगाए। अनुसन्धानकर्ताका अनुसार यसले वासिङ मेसिनको मूल्य लगभग १२ प्रतिशतले बढाएको थियो। जसले गर्दा अमेरिकी उपभोक्ताले यी उत्पादनका लागि प्रत्येक वर्ष लगभग १.५ अर्ब थप तिर्नुपरेको छ।
रोजगारीमा पनि असर
अमेरिकी कामदारहरु पनि करको प्रभावबाट नोक्सान हुन सक्छन्। ट्रम्पले आफ्नो ट्यारिफ नीतिले अमेरिकी कामदारका लागि कामको अवसर सिर्जना गर्ने दाबी गरे पनि धेरै विज्ञहरुले यो भ्रममात्र भएको बताएका छन्। प्रतिवेदन अनुसार सन् २०१८ मा स्टिल उद्योगमा २५ प्रतिशत ट्यारिफ लगाए पनि अमेरिकी स्टिल उद्योगमा रोजगारी संख्यामा उल्लेख्य वृद्धि भएको थिएन। यसविपरीत कृषि मेसिनरीजस्ता स्टिलमा निर्भर अन्य उद्योगमा रोजगारी घटेको छ।
साझेदारलाई प्रतिकूल असर
ट्रम्पको ट्यारिफ निर्णयले अमेरिकाका प्रमुख व्यापार साझेदारहरुसँगको सम्बन्धमा तनाव बढाउन सक्छ। यदि क्यानडा, मेक्सिको र चीनले यो नीतिको विरोध गरेमा व्यापार युद्धको खतरा हुन सक्छ। यस अवस्थामा यी देशले अमेरिकी सामानमा शुल्क लगाउन सक्छन्। जसले अमेरिकी उत्पादनको माग घटाउन सक्छ। सन् २०१८ मा चीनमा कर लगाएपछि चीनले अमेरिकी कृषि उत्पादनहरु जस्तै भटमासमा २५ प्रतिशत कर लगाएको थियो। जसले अमेरिकी किसानलाई ठूलो नोक्सान पुर्याएको थियो।
ट्रुडोले के भने ?
अमेरिकाको निर्णयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, ‘म अमेरिकीहरुसँग प्रत्यक्ष कुरा गर्न चाहन्छु। यो ट्यारिफ निर्णयले क्यानाडालीलाई चोट पुर्याउनेछ तर यो अमेरिकीहरुका लागि पनि खतरनाक हुन्छ। जसका कारण अमेरिकामा महँगी बढ्नेछ र धेरै क्षेत्रमा नोक्सानी हुनेछ।’ –एजेन्सी

















