IME Life New

छोराछोरीलाई पढाउन क्यानडा पठाउँदै हुनुहुन्छ ? अध्ययन अवधिभरको खर्च बन्दोबस्त गर्न अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थुप्रै नेपाली विद्यार्थी क्यानडा अध्ययनका लागि पुगेका छन्। तर, पछिल्लो समय रोजगारमा देखिएको समस्याले त्यहाँ अध्ययन नेपाली विद्यार्थीलाई निकै कठिन भइरहेको छ।

यही कठिनतालाई ध्यानमा राख्दै क्यानडाका लागि नेपाली दूतावासले एउटा सचेतनामूलक जानकारीपत्र जारी गर्दै अध्ययन अवधिभर बस्ने–खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। ‘अभिभावकहरुले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ’, जानकारीपत्रमा भनिएको छ, ‘पठाइसकेपछि उनीहरुसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के–कस्ता समस्याहरुसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।’

Esewa
Crest

क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासको भनाइ छ। कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिन दूतावासले आग्रह गरेको छ।

धेरै सूचनाहरु सम्बन्धित वेबसाइटमा उपलब्ध हुने जनाउँदै दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज÷विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र सम्भावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरुले यथेष्ट खोजी गरी सुसूचित हुन विद्यार्थीसँग आग्रह गरेको छ। क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु सम्बन्धी नयाँ नीति लिएको जानकारी दूतावासले गरेको छ। ‘अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी–सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट जारी नगर्ने नीति लिएको छ।अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीले यी नीतिहरुलाई विशेष ध्यान दिन उचित हुनेछ’, दूतावासले भनेको छ।

यसैगरी विद्यार्थीहरुले क्यानडा आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिल छ। ‘कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ’, दूतावासले भनेको छ, ‘डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS