काठमाडौं । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्दिप लुइँटेललाई नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिले गत पुस २९ गते लुइँटेलसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो। सप्तरीको राजविराजनिवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए।
भारतको पुनेबाट एमबीए गरेका लुइँटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन्। भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट÷स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका लुइँटेलले नेपालको पुँजीबजारका बारेमा विशेष दखल राखेका छन्।

















