IME Life New

गाँजा कारोबारीको क्रीडास्थल बन्दै पशुपति क्षेत्र, नसामा फस्दै युवा, बढ्दै आपराधिक जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा हाल गाँजा प्रतिबन्ध छ। यसको उत्पादन, बिक्रीवितरण र सेवन गर्न पाइँदैन। केही वर्षयता भने गाँजाखेतीप्रति उदार नीति लिने सोचमा सरकार छ। सरकार चालु र आगामी आर्थिक वर्षको बजेट भाषणमै औषधीय प्रयोजनका लागि गाँजाखेती गर्न दिन कानुनी व्यवस्थापनमा परिमार्जन गरिने घोषणा गरिएको छ।

औषधीय प्रयोजनका लागि गाँजाखेती खुला गरिने सरकारको तयारीलाई स्वागत गनुपर्छ। यसले स्थानीय किसानको आर्थिक उन्नयन हुनेछ भने मुलुकको अर्थतन्त्रमा पनि थोरै बहुत टेवा पुग्नेछ। त्यसैले गाँजाखेतीलाई कानुनी रुपमा खुला गरी सही ढंगले यसको प्रयोगका लागि कडा नीति लिनुपर्ने भने देखिन्छ।

Esewa
Crest

हाल खुला नभइसकेको अवस्थामा गाँजालाई अवैध लागूऔषध रुपमा राखिएको छ। यद्यपि, विशेषगरी युवापुस्ताको ठूलो जमात पछिल्लो समय गाँजाको लतमा फस्दै गएको देखिन्छ। उदाहरणका लागि हामी धेरै टाढा जानुपर्दैन। काठमाडौंमा अवस्थित हिन्दु धर्मावलीहरुको सबैभन्दा ठूलो पवित्रस्थल ‘पशुपतिनाथको मन्दिर’ आसपासका क्षेत्रमा गए पुग्छ। अझ पशुपतिनाथको मन्दिरको पूर्वी र दक्षिणी क्षेत्रमा १८ वर्ष मुनिका थुप्रै युवायुवती खुलेआम गाँजा सेवन गरिरहेका भेटिन्छन् भने गाँजाको व्यापार गर्ने पनि उत्तिकै फेला पर्छन्।

शनिबार साँझ ६ बजेतिर पशुपतिको आर्यघाट क्षेत्र पुग्दा खोला वारि र पारि थुप्रै युवायुवती चुरोटको खिल्लीमा परेको गाँजा तानेर बसिरहेको थिए। कतिपय युवा त आफैँलाई सम्हाल्न नसक्ने अवस्थामा थिए। तिनलाई गाँजा भरिएको खिल्ली बेच्नेहरु पनि परिपक्व मान्छेहरु नै थिए। ‘एउटा खिल्लीको ५० रुपैयाँ माथि बेच्छौँ’, मुख छोपेर बसेका एक व्यक्ति भने, ‘तपाइँलाई कति वटा दिउँ ?’

ती गाँजा व्यापारीलाई उनीहरुका आसपास पुग्ने जोकोही पनि गाँजा नै सेवन गर्न आएको जस्तो भान हुने रहेछ। मैले होसियारीपूर्व सोधेँ, ‘पुलिस त छैन आसपास, फेरि समात्छ कि ?’

ती व्यापारीले जबाफ दिए, ‘पशुपतिमा गाँजा खुला छ, पुलिसीले केही गर्दैन।’

त्यत्तिकैमा १४–१५ वर्षका एक किशोर आएर ‘दाइ मलाई २ वटा खिल्ली दिनु त’ भनेर ती व्यक्तिसँग कुराकानी गर्न थाले। त्यसपछि म त्यहाँबाट पारि पट्टी गएँ। पारि पट्टी पनि करिब १०–१५ जना युवा आँपसँग गाँजा भरिएको चुरोट तान्नमै व्यस्त थिए।

गाँजाको कारोबार र सेवन नियन्त्रण गर्न नसक्दा पशुपति क्षेत्रमा दैनिकजसो आपराधिक घटनाहरु पनि हुने गरेका छन्। चोरी, कुटाकुट, महिलामाथि अभद्र व्यवहारजस्ता घटना त त्यस क्षेत्रमा सामान्य नै भइसकेको छ। ‘यसरी खुलेआम गाँजाको कारोबार र सेवन भइरहने हो भने कुनै बेला यो पवित्र धार्मिकस्थल अपराधी जन्माउने आपराधिक थलो नबन्ला भन्न सकिँदैन’, पशुपति क्षेत्रनजिकको पार्किङ स्थलको आडमा पसल गर्दै आएका एक व्यापारीले भने, ‘गाँजाकै कारण दैनिक झैझगडा हुन्छ। चोरीका घटना त सामान्य नै भइसकेको छ। तर, कसले नियन्त्रण गर्ने ?’

शिवरात्रिको बेला त झन पशुपति क्षेत्रमा गाँजाको खुलमखुला कारोबार र सेवन हुने गरेको छ। गाँजा सेवन गर्न भनेरै थुप्रै मानिस पशुपति पुग्ने गरेका छन्। तर, प्रहरी प्रशासनले शिवरात्रिको ३ दिन अघिदेखि नै माछामासु, मदिरा र लागूऔषध सेवनमा प्रतिबन्ध लगाउँदै आएको छ। यसका बाबजुद पनि पशुपति क्षेत्रमा गाँजाको कारोबार र सेवन नियन्त्रण हुन सकेको छैन।

पशुपति मन्दिरको आडमै रहेको गौशाला प्रहरी परिसर छ तर गाँजा बिक्रीवितरण र सेवनलाई खासै नियन्त्रण गर्न सकेको देखिँदैन। गौशाला प्रहरी परिसरका एक प्रहरी अधिकारी पशुपति क्षेत्रमा गाँजाको कारोबार र सेवन रोक्न ठूलो जनशक्ति चाहिने बताउँछन्। ‘दैनिक १०–१२ जना त हामीले समातेर ल्याउने गरेका छौँ तर राख्ने ठाउँकै अभाव छ, कतिपयलाई भोलिपल्टै छाड्नुपर्ने अवस्था छ’, नाम उल्लेख नगर्ने सर्तमा अधिकारीले भने, ‘अर्कोतर्फ गौशाला प्रहरी परिसरमा जनशक्तिको पनि अभाव छ।’

विश्व सम्पदा सूचीमा पशुपति क्षेत्र रहेको छ। पशुपति क्षेत्रको सौन्दर्यीकरणका लागि आसपासको क्षेत्र अतिक्रमण बसेका घरटहराहरु भत्काइसकिएको छ। तर, गाँजाकै कारण दिनप्रतिदिन आपराधिक थलो बन्दै गइरहेको यो पवित्रस्थललाई सुरक्षित बनाउने जिम्मेवारी पाएका निकायहरु चेत कहिले खुल्ने हो, पत्तो छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS