काठमाडौं । विश्वकै सबैभन्दा ठूला रक्तदाता मानिने जेम्स ह्यारिसन अब यस संसारबाट बिदा भएका छन्। ह्यारिसनको रगतलाई दुर्लभमध्ये एक मानिन्छ। जसका कारण २० लाखभन्दा बढी बालबालिकाको ज्यान बचाउन सकियो।
अस्ट्रेलियाका बासिन्दा ह्यारिसनलाई ‘म्यान विथ द गोल्डेन आर्म’ भनेर चिनिन्थ्यो। जसको रगतमा दुर्लभ एन्टीबडी एन्टी–डीको उपस्थिति थियो। गर्भवती महिलाका लागि रगतको प्लाज्मामा पाइने एन्टी–डीबाट औषधि बनाइन्छ। यो औषधि ती गर्भवती महिलालाई दिइन्छ, जसको रगतले उनीहरुको गर्भमा रहेको बच्चालाई जोखिममा पार्न सक्छ।
ह्यारिसनको फेब्रुअरी १७ मा निधन भएको हो। उनी ८८ वर्षका थिए। अस्ट्रेलियाको रेड क्रस ब्लड सर्भिसले ह्यारिसन १४ वर्षको हुँदा उनको छातीको ठूलो शल्यक्रिया भएको र ठूलो मात्रामा रगत चढाइएको जनाएको छ। यस अवधिमा उनको रगतमा दुर्लभ एन्टीबडी पत्ता लागेको थियो। त्यसपछि उनले रक्तदान गर्ने निर्णय गरेका थिए।
बीबीसीको रिपोर्टका अनुसार ह्यारिसनले १८ वर्षको उमेरदेखि ब्लड प्लाज्मा दान गर्न थालेका थिए र ८१ वर्षको उमेरसम्म प्रत्येक २ हप्तामा रक्तदान गरिरहे। सन् २००५ मा उनको नाममा सबैभन्दा बढी रक्तदान गर्ने कीर्तिमान बनेको थियो, जुन २०२२ मा तोडिएको थियो। सन् २०२२ मा यो कीर्तिमान एक अमेरिकी व्यक्तिको नाममा दर्ता भएको थियो।
ह्यारिसनकी छोरी ट्रेसी मल्लोसिपले आफ्नो बुवाले लाखौँको बच्चाको ज्यान जोगाएको र यसबाट आफू सधैँ खुसी रहेको बताइन्। मल्लोसिपलाई एन्टी–डी औषधि दिइएको थियो। ह्यारिसनका दुई नातिनातिनाको जीवन पनि एन्टी–डी औषधिले बचाएको थियो।
एन्टी–डी एन्टीबडी भनेको के हो ?
एन्टी–डी खुराकले जन्मेका बच्चाहरुलाई हेमोलाइटिक रोग (एचडीएफएन)बाट बचाउँछ। यो एक घातक रक्तविकार हो। जुन गर्भमा रहेका बच्चाका लागि धेरै खतरनाक हुन्छ। गर्भावस्थामा आमाको रगतको रातो रक्तकोशिका उनको बढ्दो भ्रूणको रक्तकोशिकासँग मेल नखाँदा यो जोखिम उत्पन्न हुन्छ।
जब आमाको इम्युन सिस्टमले भ्रूणको रातो रक्तकोशिकालाई खतराका रुपमा देख्छ तब तिनीहरुलाई आक्रमण गर्न एन्टीबडी जारी गर्छ। यो एन्टीबडी भ्रूणका लागि धेरै खतरनाक साबित हुन सक्छ। जसले गर्भमा रहेको बच्चामा रक्तअल्पता, हृदयघातजस्ता ठूला समस्या निम्त्याउन सक्छ र मृत्युसमेत हुन सक्छ। एन्टी–डी औषधि १९६० मा सिर्जना गरिएको थियो। यसअघि दुई शिशुमा एचडीएफएन रोग भेटिएको थियो। जसमध्ये एकको मृत्यु भएको थियो।
ह्यारिसनको रगतमा यति उच्च मात्रामा एन्टी–डीको उपलब्धता के कारणले भयो भन्ने पत्ता लागेको छैन। तर, केही रिपोर्टहरुका अनुसार जब ह्यारिसनलाई १४ वर्षको उमेरमा ठूलो मात्रा रगत चढाइएको थियो तब उनको शरीरमा एन्टी–डीको प्रचूरता बढेको हुन सक्छ।
अस्ट्रेलियाली रेड क्रस ब्लड सर्भिस (लाइफब्ल)का अनुसार अस्ट्रेलियामा २०० भन्दा कम एन्टी–डी डोनर छन्। तिनीहरुले हरेक वर्ष लगभग ४५ हजार आमा र तिनका गर्भमा रहेका बच्चाको जीवन बचाउँछन्। –एजेन्सी