काठमाडौं । न्यूनतम विन्दुमा पुगेको ब्याजदर घट्ने ठाउँ नपाएपछि बैंकहरुको ब्याजदर घट्ने क्रम रोकिएको छ। यससँगै अब फेरि ब्याजदर बढ्न सक्ने विश्लेषण हुन थालेको छ।
पछिल्लो समय कर्जाको विस्तारमा सामान्य वृद्धि भइरहेको छ। बजारलाई चलायमान बनाउने किसिमले आयात पनि क्रमशः बढ्दै जाँदा अब फेरि ब्याजदर बढ्ने विश्लेषण हुन थालेको हो।
पछिल्ला केही महिनायता कर्जा विस्तार सुस्त गतिमै भए पनि क्रमशः बढ्ने ट्रेन्डमा रहेको बैंकरहरु बताउँछन्। साथै, अब आयातसमेत बढ्दै गएकाले केही महिनापछि नै ब्याजदर बढ्ने अवस्था सिर्जना हुन सक्ने बैंकरहरुको बुझाइ छ।
वाणिज्य बैंकहरुले फागुन महिनाका लागि बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा दुई बैंकको बाहेक सबै बैंकको ब्याजदर स्थिर छ। यसले ब्याजदर घट्ने क्रम रोकिएको देखाउँछ। यसअघि माघ महिनामा पनि १८ बैंकले पुस महिनाको ब्याजदरलाई निरन्तरता दिएका थिए। यसरी हेर्दा धेरै बैंकहरुको ब्याजदर पुसदेखि नै स्थिर रहेको छ।
तीन महिना ब्याजदर स्थिर भइसकेकाले अब ब्याजदर बढ्दै जाने अवस्था आउन सक्ने बैंकरहरु बताउँछन्।
विगतका महिनामा अत्याधिक घट्दै आइरहेपश्चात केही विज्ञहरुले अब ब्याजदर घटाउन नहुने बताउँदै आइरहेका थिए। उनीहरुले ब्याजदर न्यूनतम विन्दुमा पुगिसकेकाले अब घटाउनेतर्फ लाग्न नहुने बताएका थिए।
बैंकहरुले फागुन महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ। माघमा पनि यस्तो ब्याजदर ६.० प्रतिशत नै थियो।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ। झन्डै ७ खर्ब हाराहारी तरलता रहे पनि कर्जा अपेक्षित गतिमा विस्तार हुन सकेको छैन। जसकारण बैंकहरुले कर्जाको ब्याजदर बढाउन नसकेका हुन्। केन्द्रीय बैंकका नीतिका कारण बैंकहरु कर्जा घटाउने अवस्थमा पनि रहेका छैनन्।
विगतमा कर्जा प्रवाह बढाउनका लागि ब्याजदर एकल अंकमा झर्नुपर्ने माग राख्दै आएको निजी क्षेत्रले अहिले ब्याजदर न्यून विन्दुमा पुग्दा पनि कर्जाको माग गर्न सकेको छैन।
केन्द्रीय बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ६.६५ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुका औसत आधारदर ९.३५ प्रतिशत थियो।
यस्तै २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत रहेकोमा २०८१ पुससम्ममा ४.७५ प्रतिशतमा झरेको छ। यस्तै २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिका ८.६९ प्रतिशतमा झरेको छ।
केन्द्रीय बैंकका पदाधिकारीहरुले यही तथ्यांकलाई आधार मानेर अब तरलता सहज अवस्थामा नरहने बताउन थालिसकेका छन्। उनीहरुले अहिलेको सहज अवस्था केही समयमै घट्ने र ब्याजदर फेरि माथि आउने बताउन थालेका छन्।

















