काठमाडौं । तपाइँलाई थाहा छ विश्वको कुन सहरका मानिससँग सबैभन्दा धेरै सम्पत्ति छ ? यसको उत्तर हो– अमेरिकाको सान होजे। यो सहरको प्रतिव्यक्ति जीडीपीको २ लाख ३८ हजार ७०० डलर रहेको छ।
प्रतिव्यक्ति जीडीपीको हिसाबले धेरै सम्पत्ति हुने विश्वका शीर्ष ४० सहरमध्ये २७ अमेरिकामा छन्। स्विट्जरल्यान्डले पनि यस सूचीमा ५ सहर समावेश गर्दछ।
सान होजे अमेरिकी राज्य क्यालिफोर्नियाको तेस्रो सबैभन्दा बढी जनसंख्या भएको सहर हो। यो सिलिकन भ्यालीको सांस्कृतिक र आर्थिक केन्द्र हो। जहाँ एडोब, सिस्को र ई–बे जस्ता प्रमुख प्राविधिक कम्पनीको मुख्यालय छ।
अमेरिकाको सान फ्रान्सिस्को पनि यस सूचीमा दोस्रो स्थानमा छ। अक्सफोर्ड इकोनोमिक्सको ग्लोबल सिटिज इन्डेक्स २०२६ अनुसार यस सहरको प्रतिव्यक्ति जीडीपीको हिसाबले १ लख ८१ हजार ९०० डलर रहेको छ।
आयरल्यान्डको राजधानी डब्लिन यस सूचीमा तेस्रो स्थानमा छ। प्रतिव्यक्ति जीडीपीको हिसाबले १ लाख ५९ हजार ७०० डलर छ। स्विस सहर बासेल १ लाख ५६ हजार ३०० डलरसहित चौथो नम्बरमा छ। अमेरिकाको सियाटल पाँचौँ (१ लाख ५२ हजार डलर), लक्जमबर्ग सिटी छैटौँ (१ लाख ४७ हजार ४०० डलर), जेनेभा (१ लाख ४४ हजार ४०० डलर) सातौँ, बोस्टन आठौँ (१ लाख ३५ हजार ३०० डलर), जुरिच नवौँ (१ लाख ३१ हजार ५००) र न्युयोर्क (१ लाख २९ हजार ३००) दसौँ छ। –एजेन्सी












