काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि सुपरमाई हाइड्रोपावर कम्पनीको शेयरभाउ समायोजन गरेको छ।
नेप्से शेयरमूल्य समायोजन गर्दै सुपरमाई हाइड्रोपावको प्रतिकित्ता ५९१.६७ रुपैयाँ कायम गरेको छ। मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको शेयरभाउ प्रतिकित्ता ७१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आज फागुन १३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १२ गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्ना ११ औँ वार्षिक साधारणसभा यही फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजना गर्दैछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५९ लाख २७ हजार ९७७.८९ रुपैयाँ नगद अनुमोदन गर्नेछ। सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
कम्पनीले पुँजी संरचनाको परिमार्जन, बोनस शेयर र हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुबाट कुनै रायसुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।












