काठमाडौं । बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा साढे २ खर्ब रुपैयाँ बढीको बीमा व्यवसाय गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले २ खर्ब ५६ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमा कम्पनीहरुले २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमा कम्पनीहरुको व्यवसाय १२.९१ प्रतिशतले बढेको छ।
हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्। तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १२.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
गत आर्थिक वर्षमा कम्पनीहरुले ५३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ५० अर्ब ७२ करोड ५ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष कम्पनीहरुले ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ३७ अर्ब ७६ करोड ३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा प्रथम बीमाशुल्क २१.०४ प्रतिशत र नवीकरण बीमाशुल्क ९.४१ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ६७ लाख ९२ हजार २३० वटा रहेको छ। अघिल्लो वर्ष सक्रिय जीवन बीमालेख संख्या १ करोड ५६ लाख ३० हजार ९९९ वटा थियो। बीमालेख संख्या ७.४३ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष कम्पनीहरुले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १५.६१ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ६१ लाख ५२ हजार ५२५ वटा रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो संख्या ५७ लाख ७५ हजार ३०५ वटा थियो।
गत आर्थिक वर्षमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ८१ लाख ९१ हजार २१३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ४८ हजार ४९२ वटा रहेको छ। अघिल्लो वर्ष म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७२ लाख ६९ हजार ३८१ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ८६ हजार ३१३ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या १२.६८ प्रतिशत भने वैदेशिक रोजगार बीमालेख संख्या ५.३३ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा बीमाको दायरामा आएको जनसंख्या बढेर ५२.०४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष बीमाको दायरामा आएको जनसंख्या ४८.३३ प्रतिशत थियो।












