काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग नयाँ चरणको वार्ता सुरु हुने दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले प्रस्तावित ठूलो सैन्य हमला हाललाई स्थगित गरिएको बताए। ‘किनकि इरान र मध्यपूर्वमा रहेका अमेरिकी सहयोगीहरूले त्यसलाई आग्रह गरेका छन्’, उनले भने।
ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरुलाई भने कि अमेरिका र इरानबीचको वार्ता सोमबार दिउँसो सुरु हुनेछ। यद्यपि, उनले वार्ता कहाँ हुनेछ वा को सहभागी हुनेछन् भन्ने कुरा निर्दिष्ट गरेनन्।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसलमा लेखेका थिए, ‘इरान र मध्यपूर्वमा रहेका अमेरिकी सहयोगीहरुले उनलाई सैन्य कारबाही रोक्न अनुरोध गरेका छन्। किनकि सम्झौताको रुपरेखा लगभग तयार छ।’
ट्रम्पले होर्मुज र आणविक मुद्दामा सम्झौताको सम्भावना कायमै रहेको दाबी पनि गरे।
यद्यपि, इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरले इरानले अमेरिकालाई कुनै पनि सैन्य कारबाही स्थगित गर्न अनुरोध नगरेको जनाएको छ। ‘ट्रम्पको यो दाबी ‘नयाँ झुट’ हो’, समाचार एजेन्सीले भनेको छ।
इरानी मिडियाका अनुसार विदेशमन्त्री अब्बास अराघचीले भने कि ओमानको मध्यस्थतामा होर्मुजसँग सम्बन्धित सम्झौतामा वार्ता अन्तिम चरणमा अघि बढिरहेको छ। –एजेन्सी












