काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास चैत मसान्त सकिसक्दा पनि हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनी गत वर्ष २०८०।८१ कै वार्षिक साधारणसभा डाक्नबाट चुकेका छन्। कम्पनी ऐन र बीमा ऐनमा रहेको प्रावधानलाई लत्याउँदै अधिकांश बीमा कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभा डाक्न चासो नदिएको पाइएको हो।
बीमा ऐन, २०७९ को दफा ८७ मा रहेको प्रावधानअनुसार बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र प्रचलित कानुनबमोजिम लेखापरीक्षण गराउनुपर्नेछ। तोकिएको अवधिभित्र लेखापरीक्षण नसकिएको अवस्थामा दुई महिना थप गरिदिन बीमकले नेपाल बीमा प्राधिकरणमा अनुरोध गर्न पाउनेछन्।
त्यस्तै सोही दफाको उपदफा ५ मा बीमकले आफ्नो लेखापरीक्षण सम्पन्न भएको ३० दिनभित्र आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेस गर्नुपर्नेछ। प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीहरुले वार्षिक साधारणसभाबाट मिति तय गर्न पाउँछन्।
उता कम्पनी ऐन, २०६३ को दफा ७६ को उपदफा १ मा प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान रहेको छ।
सोही दफाको उपदफा २ मा कुनै पनि पब्लिक कम्पनीले म्याद नाघेको ३ महिनाभित्र पनि वार्षिक साधारणसभा नबोलाएमा कम्पनी रजिस्ट्रारको कार्यालयले त्यस्ता कम्पनीको वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्नेछ। उपदफा ३ मा कार्यालयबाट निर्देशन प्राप्त गरेको ३ महिनाभित्र पनि कम्पनीले वार्षिक साधारणसभा नबोलाएमा सो कुरा खुलाई कुनै शेयरधनीले अदालतमा निवेदन दिन सक्ने प्रावधान रहेको छ। त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारणसभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ।
बीमा ऐन र कम्पनी ऐनबमोजिम अझै पनि २ दर्जन बढी बीमा कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेका छैनन्। हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ७ वटा लघु (जीवन र निर्जीवन) र २ वटा पुनर्बीमा कम्पनी छन्। यीमध्ये १ दर्जन कम्पनीले मात्रै गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेका छन्।
जीवन बीमातर्फ नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र गार्डियन माइक्रो लाइफ गरी ६ वटा जीवन बीमकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन्। नेपाल लाइफले गत माघ २८ गते, आइएमई लाइफले फागुन २५ गते, सिटिजन लाइफले चैत १५ गते, सूर्यज्योति लाइफले पुस ६ गते, सानिमा रिलायन्स लाइफले चैत ८ गते र गार्डियन माइक्रो लाइफले चैत ११ गते साधारणसभा गरिसकेका छन्।
समयमै वार्षिक साधारणसभा डाक्न नसक्नेमा बाँकी ११ वटा जीवन बीकममा राष्ट्रिय जीवन बीमा, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल), मेटलाइफ, एसियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, हिमालयन लाइफ र प्रभु लाइफ तथा क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ छन्।
यसैगरी निर्जीवन बीमकमध्ये ६ वटा कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभा डाकिसकेका छन्। तीमध्ये नेपाल इन्स्योरेन्सको गत चैत १९ गते, शिखर इन्स्योरेन्सको फागुन १३ गते, हिमालयन एभरेस्ट इन्स्योरेन्सको फागुन २७ गते, सानिमा जीआईसी इन्स्योरेन्सको चैत २१ गते, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको फागुन १५ गते र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको फागुन २५ गते साधारणसभा सम्पन्न भइसकेको छ। बाँकी ८ वटा निर्जीवन र ४ वटा निर्जीवन लघु बीमकले साधारणसभा डाकेका छैनन्।
गत आर्थिक वर्षको साधारणसभा नडाक्ने निर्जीवन बीमकमा ओरिएन्टल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र युनाइटेड अजोड तथा नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले अझैसम्म साधारण डाकेका छैनन्।
यसैगरी दुईवटा पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले पनि गत आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेका छैनन्।
प्राधिकरण स्रोतका अनुसार अझै पनि थुप्रै बीमा कम्पनीको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन स्वीकृतिका क्रममा छन्।