काठमाडौं । भारतको घरेलु उड्ययन बजारमा चाँडै नै तीन वटा नयाँ वायू सेवा कम्पनीको प्रवेश हुने भएको छ।
भारतीय नागरिक उड्डयन मन्त्रालयले थप दुई नयाँ एयरलाइन्स, अल हिन्द एयर र फ्लाई एक्सप्रेसलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गरेको छ। उत्तर प्रदेशमा मुख्यालय रहेको शंख एयरले पहिले नै एनओसी प्राप्त गरिसकेको छ ।
घरेलु उड्डयन बजारमा दुई ठूला वायूसेवा प्रदायक एयर इण्डिया र इण्डियो एयरको प्रभुत्व घटाउने प्रयास तीब्र पार्दै सरकारले थप खेलाडीको प्रवेश गराएको हो ।
इकोनोमिक्स टाइम्सका अनुसार, भारतमा इण्डियो र एयर इण्डिया समूहले मिलेर घरेलु बजारको ९० प्रतिशतभन्दा बढी नियन्त्रण गर्छन्। इन्डिगोले मात्र ६५ प्रतिशतभन्दा बढी ओगटेको छ। जसले एउटै वायूसेवा प्रदायकमा अत्यधिक निर्भरताको जोखिमको बारेमा चिन्ता बढाएको छ।
डिसेम्बर महिनाको शुरूमा जनशक्ति व्यवस्थापन गर्न नसक्दा इण्डिगो एयरको पूर्व निर्धारित उडानहरू रद्ध भएपछि हजारौं यात्रुहरू गन्तव्यमा पुग्न सकेनन् । उडानको प्रतिक्षामा स साना नानीबाबु समेत च्यापेर दुई दिनसम्म विमानस्थलमै हायलकायल भएर बस्नुपर्यो।
भारतका नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले मंगलबार एक्स मा एक पोस्टमा पछिल्लो स्वीकृतीको पुष्टि गरेका छन् । उनले भनेका छन् कि, मन्त्रालयले शंख एयर, अल हिन्द एयर र फ्लाईएक्सप्रेसका टोलीहरूसँग बैठकहरू गरेको छ। यीमध्ये उत्तर प्रदेशमा रहेको शंख एयरले सन् २०२६ देखि नै व्यवसायीक उडान शुरू गर्ने अपेक्षा गरिएको छ।
नयाँ कम्पनीको प्रवेशले यस क्षेत्रमा प्रतिस्पर्धा बढाउन भारत सरकारको व्यापक प्रयासको एउटा हिस्सा हो। भारतमा हाल नौ वटा घरेलु वायूसेवा कम्पनीहरू सञ्चालनमा छन् ।
सरकारको उडान योजना अन्तर्गत, स्टार एयर, इन्डिया वन एयर र फ्लाई९१ लगायतका वाहकहरूले साना शहरहरूमा सेवाहरू विस्तार गरेका छन् । उनीहरूलाई राष्ट्रिय उड्डयन सञ्जालमा एकीकृत गर्न मद्दत पुगेको छ।
भारतको हालको अनुसूचित घरेलु एयरलाइन्सको सूचीमा इन्डिगो, एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, सरकारी स्वामित्वमा रहेको एलायन्स एयर, अकासा एयर, स्पाइसजेट, स्टार एयर, फ्लाई९१ र इन्डियावन एयर समावेश छन् ।
घाटा चुलिएपछि हालै मात्र क्षेत्रीय उडान सेवा प्रदायक फ्लाई बिगले गत अक्टुबरदेखि आफ्नो निर्धारित उडानहरू स्थगित गरेको थियो। केही वर्ष अघि घाटाका कारण जेट एयरवेज र गो फर्स्ट जस्ता वाहकहरूले ऋण र सञ्चालन चुनौतीहरूले गर्दा सञ्चालन बन्द गरेका थिए।


















