काठमाडौं । शेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन नेपालले नेपाल धितोपत्र बोर्डले तयार गरेको मार्जिन कारोबारसम्बन्धी निर्देशन, २०८२ मा आफ्ना सुझाव पठाएको छ।
धितोपत्र बोर्डले केही समयपहिले यो निर्देशनको मस्यौदा जारी गर्दै सरोकारवाला निकायहरुसँग रायसुझाव माग गरेको थियो। सोहीबमोजिम एसोसिएसनले आफ्नो आवश्यक सुझाव धितोपत्र बोर्डमा पठाएको हो।
मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ लागू भएपश्चात केही सदस्य दलाल व्यवसायी (ब्रोकर)ले प्रयोगमा ल्याउन चाहे पनि केही व्यावहारिक कठिनाई तथा केही प्राविधिक कठिनाइले गर्दा र मार्जिन सुविधा प्रदान गर्ने स्रोतको समस्याले गर्दा हाल कार्यान्वयनमा ल्याउन सम्भव नभई यथास्थितिमा रहेको एसोसिएसनले जनाएको छ। ‘यसैबीच धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशन २०८२ मा केही संसोधन सार्वजनिक गरेर सुझाव माग गरेकोमा हामी आभारी छौँ’, एसोसिएसनले भनेको छ, ‘तथापि अझै पनि केही बिषयमा हाम्रा गम्भीर कठिनाइसँगै सुझाव पेस गरेका छौँ।’
यस्ता छन् सुझाव
१. सदस्य दलाल व्यवसायीहरुले मार्जिन कारोबारको लागि चाहिने लगानीको रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै रहेको छ। यसमा मुख्यगरी हामीले उठाउँदै आएको विषय ग्राहकबाट लिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा परिचालन गर्ने ब्यवस्था हुँदा जोखिम बाँडिने र स्रोतको पनि उचित ब्यवस्था हुने अबस्था रहन्छ। त्यसैगरी मार्जिन कारोबारको व्यवस्थालाई निर्देशिकाबाट भन्दा पनि नियमावलीमार्फत आउँदा अझै बलियो कानुनी आधार बन्न सक्ने हाम्रो सुझाव रहेको छ।
२. मार्जिन कारोबार गर्ने ग्राहकको परिवार, हकवाला, अन्य नियमनकारी निकाय, अनुसन्धान गर्ने निकाय, अड्डा–अदालत वा नेपाल सरकारबाट कुनै पनि अनुसन्धान वा कारबाही गर्नुपर्ने अवस्था सिर्जना भई सम्पति रोक्का गर्नुपर्ने अवस्था आएमा धितोपत्र दलाल व्यवसायीले दिएको मार्जिन कर्जाको दायित्व असुल उपर गर्न आवश्यक धितोपत्र वा रकम यकिन गरी छुट्टाई बाँकी रहेको रकम मात्र रोक्का गर्ने व्यवस्थाका लागि धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशनसमेत जारी गर्नुपर्ने आवस्यकता रहेको छ।
केही बुँदागत सुझाव
निर्देशन नम्बर २ (ज) बुँदाको सट्टामा ‘मार्जिन कारोवार हितग्राही खाता’ भन्नाले लगानीकर्ताले मार्जिन कारोबारमार्फत खरिद गरेको शेयर जम्मा हुने धितोपत्र दलाल व्यवसायीको सिफारिसमा खोलिएको हितग्राही खाता सम्झनुपर्छ।
निर्देशन नम्बर ३ (ग) बुँदामा पछिल्लो ३ वर्षमा २ बर्ष लाभांश वितरण गरेको भन्ने रहेकोमा लाभांशको प्रावधान व्यावहारिक नभएका कारण मुनाफामा गएको भन्ने शब्द राख्न आवश्यक भएको।
निर्देशन नम्बर ३ (घ) बुँदाको सट्टामा ‘प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्कासन भई कम्तीमा १८० दिन कारोबार सम्पन्न भएको’ भन्ने वबक्य राख्न आवश्यक भएको।
निर्देशन नम्बर ४ को बुँदा (ग)को सट्टामा ‘निक्षेप सदस्यले प्राप्त गरेको वा निक्षेप सदस्य कम्पनी खोली लगानी गरेको’ भन्ने वाक्य राख्न आवश्यक भएको।
निर्देशन नम्बर ६ को बुँदा (१) को सट्टामा ‘धितोपत्र दलाल व्यवासायीले सूचीकृत संगठित संस्थाको शेयरको बजार मूल्यको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ’ भन्ने कुरा राख्न आवश्यक भएको।
निर्देशन नम्बर ७ को (१) बुँदाको सट्टामा ‘शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्नु ग्राहकको कर्तव्य हुनेछ। सो पूरा नगरेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई सोही दिन मार्जिन कल गर्नुपर्र्नेेछ।’
निर्देशन नम्बर ७ को (२) बुँदाको सट्टामा ‘उपदफा (१) बमोजिम मार्जिन कल गरेपश्चात् अर्को कारोवार दिनको कारोबार सुरु हुनुअगावै आवश्यक मार्जिन कायम नगरेमा धितोपत्र दलाल व्यवसायीले बजारको अवस्था र जोखिमलाई हेरी मार्जिन कारोवार सुविधाअन्तर्गत खरिद गरेको शेयर विक्री गर्न सक्नेछ।’
निर्देशन नम्बर ७ को (५) बुँदाको सट्टामा ‘यस दफामा जुनसुकै कुरा लेखिएको भए पनि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको मार्जिन कारोबारयोग्य धितोपत्र धितो बन्दकीका रुपमा लिन सक्नेछ। उक्त शेयरको मूल्य गणना गर्दा १८० दिनको भारित औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ७० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ।’
निर्देशन ८ मा (४) बुँदा थप गर्नुपर्ने ‘धितोपत्र दलाल ब्यवसायीले मार्जिन कारोबार सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाबाट स्रोत ब्यवस्थापन गर्न पर्ने भई उक्त प्रयोजनका लागि बैंक वित्तीय संस्थाले धितो जमानत खोजेमा मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएका ग्रहाकहरुको मार्जिन कारोबार हितग्राही खाता (मार्जिन ट्रेडिङ खाता) मा मौज्दात रहेको कुल शेयरमध्ये आवश्यक परिमाणमा धितोपत्रहरु रोक्का नरहने गरी बैंक तथा वित्तीय संस्थालाई धितोस्वरुप लेखिदिन सक्नेछन्।’
निर्देशन ९ को (२) सट्टामा ‘धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो मार्जिन कारोबार सुविधा क्षमताको बढीमा १०% प्रतिशतभित्र रहेर मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छन्।’
निर्देशन १३ मा (३) बुँदा थप गर्नुपर्ने ‘उपरोक्त बाहेक धितोपत्र बजारले मार्जिन कारोबार सेवाअन्तर्गतका सहभागीहरुको आवश्यकता बमोजिम बोर्डको स्वीकृति लिई कार्यविधिमा थपघट तथा संशोधन गर्न सक्नेछ।’


















