काठमाडौं । बीमा नियमावली, २०८१ जारी भएसँगै जीवन बीमा अभिकर्ताको इजाजतपत्र परीक्षाका लागि आवेदन दिनेको संख्या खुम्चिन थालेको छ। अभिकर्ता पेसाको इजाजतपत्रका लागि न्यूनतम शैक्षिक योग्यता र इजाजतपत्र दस्तुरसम्बन्धी नयाँ प्रावधानका कारण यस्तो प्रभाव देखा परेको हो।
बीमा नियमावलीमा न्यूनतम शैक्षिक योग्यता साबिकको एसएलसी/एसईईबाट १२ कक्षा वा प्रवीणता प्रमाणपत्र तह निर्धारण गरिएको छ। यसैगरी नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता इजाजतपत्र शुल्कवापतको रकम साबिकको १ हजार रुपैयाँबाट २ हजार ५०० रुपैयाँ कायम गरिदिएको छ। यसबाहेक नियमन शुल्कसमेत थप ५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ। अभिकर्ता इजाजतपत्र र परीक्षा शुल्कबापत कुल ३ हजार रुपैयाँ भुक्तानी गरेपछि मात्र अभिकर्ता इजाजत पाइन्छ।
यो नियमावली लागू हुनुअघि अभिकर्ता इजाजतपत्रका लागि प्राधिकरणलाई जम्मा ५०० रुपैयाँ भुक्तानी गरे पुग्थ्यो। थप ५०० रुपैयाँ चाहिँ जीवन बीमकले तालिम शुल्कबापत लिँदै आएका थिए। नयाँ जीवन बीमकले निःशुल्क तालिमको प्रबन्धसमेत मिलाएका थिए।
इजाजतपत्रबापतको शुल्क सस्तो हुँदा अभिकर्ता पेसामा लाग्न प्रेरित गर्नका लागि जीवन बीमकका शाखा प्रबन्धक र वरिष्ठ एजेन्सी म्यानेजर स्वयंले नै इजाजतपत्रबापतको खर्च परीक्षार्थीका तर्फबाट व्यक्तिगत रुपमा व्यहोरिदिने गरेका थिए। केही जीवन बीमकले बीमा प्राधिकरणलाई इजाजत शुल्कबापत भुक्तानी दिनुपर्ने ५०० रुपैयाँसमेत बीमालेख खर्चअन्तर्गत नै व्यहोर्ने प्रबन्ध मिलाएका थिए। अहिले एकैपटक इजाजतपत्र शुल्कमा डेढ गुणा वृद्धि गरिएपछि गोजीबाटै लगानी गरिदिने प्रवृत्तिमा अंकुश लागेको छ।
‘अब बग्रेल्ती अभिकर्ता उत्पादन हुने छैनन्’, बीमकका एक अधिकारी भन्छन्, ‘तर, अब अभिकर्ताका लागि सम्भावित व्यक्ति खोज्नै समय लाग्ने भयो।’
पेसागत बीमा अभिकर्ता संघका केन्द्रीय महासचिव ओम केसीले अभिकर्ता इजाजतपत्रको शुल्क बढ्नुले संख्यात्मकभन्दा गुणात्मक प्रभाव पार्ने बताए। ‘अभिकर्ता इजाजतपत्रको शुल्क बढ्दा अभिकर्ताको संख्या घट्ला’, उनले भने, ‘तर, २५ सय खर्च गरेर इजाजतपत्र लिने अभिकर्ताले राम्रो व्यापार गर्छु भनेर मेहनत गरेर लाग्नेछन्। यसले बीमा व्यापारमा गुणात्मक नतिजा ल्याउँछ।’
परीक्षा सञ्चालनमा तेस्रो पक्षको संलग्नता
बीमा नियमावली, २०८१ प्राधिकरणले बीमा अभिकर्ता इजाजतपत्रका लागि परीक्षा सञ्चालनको जिम्मेवारी तेस्रो पक्षलाई समेत दिन सक्ने भएको छ। बीमा नियमावलीमा प्राधिकरण आफैँले वा अन्य कुनै संस्थामार्फत परीक्षा सञ्चालन गर्न सक्ने प्रावधान समावेश गरिएको छ। अनलाइन माध्यमबाट अभिकर्ता इजाजतपत्र परीक्षा सञ्चालन गरिरहेको प्राधिकरणले अहिले परीक्षाको सम्पूर्ण प्रक्रियामा आफ्नो मुख्य कार्यालय र ६ वटै प्रादेशिक कार्यालयको जनशक्तिलाई प्रयोग गरिरहेको छ। निश्चित सेवा शुल्क लिने गरी तेस्रो पक्षले परीक्षा सञ्चालन गरेको अवस्थामा प्राधिकरणले अन्य उत्पादनशील काममा आफ्नो जनशक्तिलाई प्रयोग गर्न सक्नेछ।
बीमा ऐन, २०७९ बमोजिम एकपटक लिएको अभिकर्ता लाइसेन्स ३ वर्षसम्म कायम रहने व्यवस्था रहेको छ।