काठमाडौं । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन) सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो ।
शुक्रबार एक भव्य कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गरिन् । नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध गराउनका लागि सेवा प्रभावकारी हुने अपेक्षा लिइएको छ ।
सिएमएसले सामाजिक उत्तरदायित्व बहनअन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने विरामीलाई फलदायी हुने बताइन् । यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताइन् ।
जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नहुने भन्दै उनले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन् ।
भरतपुर १४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठुला संघीय अस्पताल बन्न लागेको उल्लेख गरिन् । यहाँ ३०० बेड क्षमताको संघीय शिक्षक अस्पताल र १०० शैयाको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो ।
सिएमएसका व्यवस्थापक डा सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, सिएमएसका निर्देशक नटराज प्रसाद, भरतपुर महानगर सामाजिक शाखा प्रमुख शान्त कुमारी पौडेल, सिएमएसका डा। सुदिप केसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साखीको अध्यक्षतामा भएको हो ।
केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

















