काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा सार्वजनिक गरिएको ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्।
अध्यक्ष ढकालले कार्ययोजनालाई नेपालको पुँजीबजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्। ढकालले कार्ययोजनामा आइपीओमा प्राइस डेस्कोभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड मार्केटको विकास गर्ने, गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नेप्से, सीडीएससी र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नेपालको पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
ढकालले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक भएको बताए। उनका अनुसार यसले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पुँजीबजारको दिगो विकासमा टेवा पुर्याउनेछ।
अध्यक्ष ढकालले सरकारले घोषणा गरेका सुधारहरु समयबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन भएमा पुँजीबजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पुँजीबजारको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्। यसका साथै उनले पुँजीबजार सुधारप्रति देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री वाग्ले, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।












