काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को लागि हालसम्म ६ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत विकास बैंकमध्ये हालसम्म शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।
मितेरी डेभलपमेन्ट बैंक
बैंकले आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बैंकले नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । बैंकले मंसिर ६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरान–१स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक २३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
गरिमा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा बैंकले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार सम्पन्न गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ दशमलव २ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १३ दशमलव ५३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ४ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले कात्तिक १५ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।
कामना सेवा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ३ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।
महालक्ष्मी विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १० दशलमव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

















