काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ।
बैंकले गत असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गरेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गरेको छ।
बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

















