IME Life New
GBIME

शिक्षण पेसासँगै बीमा ज्ञान बाँड्दै निरौला, भन्छन्ः ढुक्क भएर बीमा गर्नुस्, पैसा डुब्दैन

SPIL
Global College
Nepal Life

काठमाडौं । पुणान्द निरौला पेसाले शिक्षक हुन्। शिक्षा जगतमा मात्रै होइन उनको नाम बीमा क्षेत्रमा पनि उत्तिकै परिचित छ। आफ्नो शिक्षण पेसालाई समय दिएर बचेको समयमा उनले बीमा क्षेत्रमा लागेर बीमा शिक्षा दिने काम पनि गर्छन्।

निरौला हाल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाबाट एजेन्सी म्यानेजर छन्। उनको सिद्धान्त भनेकै बीमा शिक्षा सचेतना जगाउनुपर्छ भन्ने रहेको छ। बीमा पोलिसी बेच्नुका लागिमात्रै उनी अभिकर्ता बनेका होइनन्। मानिसलाई बीमा शिक्षा दिन र बुझाउन अभिकर्ताको कर्तव्य महत्वपूर्ण हुने ठानेर उनी यस क्षेत्रमा लागेका हुन्।

Crest

२०३० सालमा जन्मिएका निरौलाको बाल्यकाल फिदिम नगरपालिकाको लुम्फाबुङ भन्ने ठाउँमा बित्यो। खेती–किसानी गर्ने परिवारमा जन्मिएका निरौला ४–५ वर्षको उमेरबाटै घरको काम गरेर बुवा–आमालाई सहयोग गर्थे। उनले आफ्नो जन्मस्थानबाटै एसएलसी पास गरे।
बिहान–बेलुका घरको काम गरेर निरौला स्कुल पढ्न जान्थे। त्यतिबेला थोरै घरकै काम गर्न भ्याइनभ्याई हुने भएकोले थोरै बालबालिकामात्रै स्कुल जान्थे। तर, निरौलालाई पढ्न जान दिन परिवारबाट कुनै रोकटोक भएन। ‘बुवाले काम गर भन्नुहुन्थ्यो। बुवाले चाहिँ पढ्नमा भन्दा पनि काम गर्नका लागि प्रेरित गर्नुहुन्थ्यो’, बाल्यकाल सम्झिँदै उनले भने, ‘आमाले चाहिँ पढ्नका लागि बढी जोड दिनुहुन्थ्यो। बुवाको आँखा छलेर आमाले मलाई गाउँमा सरसँग पढ्न पठाउनुहुन्थ्यो। म पनि पढ्नमा असाध्यै रुचि राख्थेँ। अहिले मलाई धेरै याद आउँछ मेरी आमाले मलाई पढ्नका लागि गरेको संघर्षले गर्दा आज मैले सफलता पाएको हुँ।’

निरौला सानैदेखि मेहनत र संघर्ष गर्न रुचाउँथे। घरको काम गर्न पनि उत्तिकै सक्रिय थिए। रातको २ बजेसम्म पढ्ने गरेको अनुभव सुनाउँदै उनले भने, ‘म ढिकी कुट्दा पनि पढ्थेँ। बाटोमा हिड्ँदा पनि, घाँस काट्न जाँदा पनि, जेसुकै काम गर्न जाँदा पनि म पढ्ने गर्थें।’

निरौलाले स्कुलमा कहिल्यै दोस्रो भएनन्। उनी सधैँ कक्षामा पहिलो अनि प्रथम श्रेणीमै उत्तीर्ण हुन्थे। ‘कहिले–काहीँ कुनै विषयमा थोरै नम्बर आउँदा निकै चिन्ता लाग्थ्यो। अनि रातभर पढ्थेँ’, उनले भने। उनी मेहनती भएकै कारण आज शिक्षण र अभिकर्ता पेसामा सफल छन्।
निरौला मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे। फिदिमबाट एसएलसी पास गरेपछि सुनौलो भविष्यको खोजीमा ‘पढ्दै केही गर्छु’ भन्ने आँट र अठोट बोकेर उनी इलाम झरे। इलामबाटै उनले प्लस टुदेखि स्नातकसम्मको अध्ययन पूरा गरे। ‘सानैदेखि मेहनत गर्ने बानी थियो र मैले इलाम आएपछि पनि मेहनत गर्न छाडिनँ’, निरौलाले भने, ‘मेरो मेहनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाउँमा आइपुग्न सफल भएको छु।’

निरौला २०५० सालबाट शिक्षण पेसामा आबद्ध भएका थिए। उनले ९ वर्ष अस्थायी रुपमा अध्यापन गराए। त्यसपछि २०६० सालमा शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति भए। निम्न माध्यमिक तहमा अंग्रेजी शिक्षकका रुपमा नियुक्ति पाएका निरौला अहिले प्लस टुसम्म अध्यापन गराउँछन्। उनी अंग्रेजी, सामाजिक र शिक्षा विषय अध्यापन गर्छन्।

स्कुलमा काम गर्दैगर्दा पनि निरौलाले अनौपचारिक शिक्षालाई प्राथमिकता दिँदै अगाडि बढिरहे। उनले त्यतिबेला गाउँ–गाउँमा गएर प्रौढ शिक्षा, महिला शिक्षा, बाल शिक्षाजस्ता विभिन्न अनौपचारिक शिक्षामा सहजीकरण गर्दै आइरहेका थिए। उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन्। नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य रहेका निरौला बाल क्लबका संरक्षक पनि हुन्।

यसरी लागे बीमा क्षेत्रमा
आफू स्कुलको जागिरे जीवन व्यतित गर्दैगर्दा आइरहेका निरौलाको सिटिजन लाइफका स्टार एजेन्सी मेघराज भट्टराई र सिनियर एजेन्सी म्यानेजर अगेन्द्र लुइँटेलसँग भेट भयो। उनीहरुले निरौलालाई ‘तपाइँको बीमा गर्नुस्’ भन्ने प्रस्ताव राखे। अनि निरौलाले ‘यो बीमा क्षेत्रमा अभिकर्ता भएर कसरी काम गर्ने ? मलाई पनि अभिकर्ता भएर काम गर्ने इच्छा छ। म आफैँ अभिकर्ता बनेर मेरो बीमा गराउँछु’ भन्ने जबाफ उनीहरुलाई दिए। त्यसपछि उनीहरुले ‘हुन्छ ! अभिकर्ताको तालिम लिनुस्, अनि लाइसेन्स लिएर काम गर्न थाल्नु राम्रो हुन्छ’ भने। त्यसपछि निरौलाले उनीहरुले भनेबमोजिम तालिम लिएर २०७९ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिए।

सुरुमा निरौलाले आफ्नै बीमा गरे। त्यसपछिका दिनहरुमा पनि उनले आफन्त, साथीभाइलगायतलाई बीमा प्रस्ताव राख्दै बीमा बुझाउँदै गए। ‘बिहाज–बेलुका अनि बिदाको दिनमा पनि मैले बीमालाई समय दिन्छु’, उनले भने, ‘यो क्षेत्रमा लागेपछि त मैले समयको सदुपयोग गरेको छु। स्कुलबाट आएपछि र स्कुल जानुअघि अनि बिदाको समयमा मैले खाली समयलाई भरपुर सदुपयोग गरेको छु। मानिसहरुलाई बीमाको दायरामा ल्याउने कोसिस गरिरहेको छु।’

मानिसहरुलाई भविष्यमा हुन सक्ने जोखिमका लागि आज नै बीमा सचेतना दिएर बीमा गर्न निरौलाले आग्रह गर्ने गरेका छन्। ‘बचत गर्ने बानी बसाल्न सबैलाई बीमा ज्ञान दिँदै हिँडेको छु। यसबाट मलाई पनि आर्थिक सहायता मिलेको छ’, उनले भने ‘हरेक काम गरेबापत पारिश्रमिक पाइन्छ तर बीमाबाट पाइने पारिश्रमिक धेरै राम्रो छ।’

एकातिर आम्दानी हुने र अर्कोतिर बीमितहरुलाई पनि बचत हुने र रिस्क कभर हुने भएकाले यो पेसा भनेको दुवै हातमा लड्डु पाइने पेसा रहेको निरौलाको भनाइ छ। ‘यस पेसाबाट राज्यलाई कर पनि जाने भएकाले राष्ट्रलाई समेत आर्थिक समृद्धिमा टेवा पुर्याउने पेसा हो’, उनले भने, ‘बीमाबाट दुई पक्षलाई नै फाइदा पुगेको हुन्छ। म यो पेसाबाट धेरै सन्तुष्ट छु।’

पहिलाभन्दा अहिले बीमा बुझाइ मानिसमा फराकिलो हुँदै आएको निरौलाको अनुभव छ। ‘तर, कतिपय मानिसले अझै पनि सहकारीसँग जोडेर बीमा कम्पनी पनि भाग्ने हो की भन्नुहुन्छ तर म शिक्षक भएको नाताबाट बीमा बुझाउँछु र भन्छु म आफू शिक्षक पनि हुँ। मबाट छुट हुँदैन। ढुक्क भएर बीमा गर्नुस्, तपाइँहरुको पैसा डुब्दैन भन्छु।’

‘नेपाली धेरै नै फजुल खर्च गर्छन् तर त्यही फजुल खर्चलाई थोरै कन्ट्रोल गरेर बचत गर्यो भने बीमा गर्न सकिन्छ’, निरौला भन्छन्, ‘मेरो सिद्धान्त भनेको नै बीमाको दायरामा सबैलाई समेट्नु हो। म कसैलाई करकापमा बीमा गर्नुस् भन्दिनँ। बीमा बुझाउँछु। मन लागे राम्रो, लागे गर्छन्। नलागे भइपरी आएपछि आफैँ बुझ्छन् भन्ने लाग्छ। अरुलाई राम्रो शिक्षा र चेतना दिन मलाई धेरै खुसी लाग्छ। म बिदाको समयमा धेरै ठाउँमा गएर बीमा बुझाउने कोसिस गर्छु।’

आफूलाई बीमा गराउनभन्दा पनि बीमा बुझाउन धेरै आनन्द लाग्ने गरेको निरौला सुनाउँछन्। ‘म बीमा गर्न जाँदा एक शिक्षक भएको नाताले गर्दा पनि होला मलाई सबैले विश्वास गर्नुहुन्छ। उहाँहरुको विश्वासलाई गुम्न नदिन र मेरो शिक्षक पेसामा दाग लाग्न नदिन मैले कम्पनीको नीति–नियम, बीमाबाट पाइने सेवा–सुविधा जे हो त्यही नै भनेर बीमा गराउने गरेको छु’, उनी भन्छन्, ‘जेहोस् मैले आमनागरिकलाई बीमामार्फत विश्वास बेचेको छु। त्यही पनि दीर्घकालीनका लागि।’

बीमा क्षेत्रमा लागेपछि सन्तुष्ट रहेका निरौला मान–सम्मान पाउँदा खुसी लाग्ने गरेको बताउँछन्। उनले भने, ‘म शिक्षकमात्रै हुँदा मलाई सीमित मान्छे अनि विद्यार्थीले मात्रै चिन्थे तर अहिले म अभिकर्ता हुँदा मलाई साराले चिनेका छन्। म आफैँले पनि समाजलाई चिन्ने मौका पाएको छु। माथिल्लो तह र तप्काका मानिसलाई पनि चिन्ने र भेट्ने मौका मलाई यही अभिकर्ता पेसाले दिलाएको छ। त्यसकारण म सिटिजन लाइफप्रति सधैँ आभारी रहनेछु।’

अभिकर्ता पेसामा आएपछि विदेश जानु नपर्ने निरौला बताउँछन्। ‘मेहनत गरेर विदेशमा गर्ने दुःख नेपालमा गरेर देशका कुना–कन्दरामा घुमेर मानिसलाई बीमा ज्ञान बाँड्यो भने बीमा गर्न सकिन्छ। त्यसबाट हुने आम्दानी पनि असीमित हुन्छ’, उनले भने, ‘अभिकर्ता सामाजिक पेसा भएका कारण मलाई पुन्य पनि मिल्छ। त्यसकारण सबैलाई बीमा क्षेत्रमा आउनुस्, खालि समयको सदुपयोग गर्नुस् भन्न चाहन्छु।’
निरौलाको बुझाइमा बीमा विश्वासको बजार हो। ‘त्यसकारण यो पेसालाई व्यवस्थित बनाउन झुटो आश्वसन होइन सत्यको व्यापार गरेर आज सर्वसाधारणलाई विश्वास बेच्न सक्यो भने धेरै राम्रो हुन्छ’, उनले भने।

अभिकर्ता पेसामा सफल हुन मेहनत, इमान्दार, सहयोगी, बीमा बुझाउन सक्ने क्षमता, कम्पनी र बीमाका बारेमा ज्ञान हुनुपर्ने निरौलाको अनुभव छ।

निरौलाले राम्रो व्यापार प्रदर्शन गर्दै आइरहेका छन्। स्कुलमा व्यस्त हुनुका बाबजुद पनि उनले कम्पनीले दिने हरेक टार्गेट मिट गरेर विभिन्न अवार्ड पाउन सफल भएका छन्। उनले हिरो अफ द मन्थ, हिरो अफ द डे, स्टार अफ द डे, सिल्भर क्लब, गोल्ड क्लब, डायमन्ड क्लबलगायतका विभिन्न अवार्ड हात पारेका छन्। उनी २०२५ का लागि एमडीआरटीका सदस्यसमेत हुन सफल भइसकेका छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS