काठमाडौं। नेपाल धितोपत्र बोर्डले आफ्नै सुझबुझमा शेयर कारोबार गर्न लगानीकर्ताहरुलाई सुझाएको छ।
धितोपत्र बोर्डले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा धितोपत्र बोर्डमा गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ। ‘ती उजुरीहरु प्राप्त भएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ। ‘त्यस्तो कार्य गरेमा धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्ब रोक्न सूचित गरिन्छ’, धितोपत्र बोर्डले भनेको छ।
यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही हुने धितोपत्र बोर्डले चेतावनी दिएको छ। ‘विगतमा समेत यस्ता किसिमका कामकारबाही भए नभएको सम्बन्धमा धितोपत्र बोर्डले सूक्ष्म निगरानी गरिरहेको छ’, सूचनामा भनिएको छ, ‘बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने व्यहोरा समस्त लगानीकर्तालाई गराउँदै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध छ।’

















