IME Life New

मिड भ्याली कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धान र प्रविधिको विकासलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको रूपान्तरणमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इनोभेसनः शेपिङ द फ्युचर अफ बिजनेस, टेक्नोलोजी एन्ड हस्पिटालिटी’ विषयमा आयोजना गरेको एकदिने राष्ट्रिय सम्मेलनमा अनुसन्धान, प्रविधि, कृत्रिम बौद्धिकता, पर्यटन, डिजिटल वित्तीय सेवा तथा आतिथ्य क्षेत्रको विकास र त्यसले पार्ने प्रभावका विषयमा चर्चा गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानले पछिल्ला दिनमा नयाँ–नयाँ ज्ञान, प्रविधि र आविष्कारको सम्भावना बढाउँदै लगेको बताइन् । पछिल्लो समय विश्वमा विभिन्न प्रकारका प्रविधिको तीव्र विकास भइरहेको उल्लेख गर्दै उनले त्यसको सही र आवश्यकताअनुसार प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानलाई कागजका पानामा मात्रै सीमित राख्न नहुने उनको भनाइ थियो । अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्न सके मात्रै त्यसको वास्तविक उपलब्धि देखिने र समाजका लागि त्यसले योगदान पु¥याउने राणाले बताइन् ।

‘अनुसन्धान गर्ने र अनुसन्धानपत्र तयार गर्ने काममा मात्रै सीमित हुनु हुँदैन,’ भन्ने धारणा राख्दै उनले अनुसन्धानबाट प्राप्त नतिजालाई आवश्यक पर्ने क्षेत्र पहिचान गरी त्यहाँ प्रयोग गर्नुपर्ने बताइन् । अनुसन्धानले समाजको समस्या समाधान गर्न र देशको विकासमा योगदान पु¥याउन सक्ने भएकाले अनुसन्धानलाई प्रयोगसँग जोड्नुपर्ने उनले उल्लेख गरिन् ।

मिड भ्याली कलेजले गर्दै आएको अनुसन्धानका कामको प्रशंसा गर्दै अध्यक्ष राणाले कलेजबाट भइरहेका अनुसन्धान आगामी दिनमा देशका विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने खालका हुनुपर्ने बताइन् । विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ विषयमा खोज गर्न प्रोत्साहित गर्दै उनले अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, कलेजका रिसर्च हेड डा.पदम डंगोलले यस्ता सम्मेलनले नयाँ–नयाँ प्रविधि र अनुसन्धानको विकासका लागि महत्वपूर्ण वातावरण निर्माण गर्ने बताए । अहिले गरिएका अनुसन्धानले तत्काल मात्रै नभई आगामी दिनमा नयाँ ज्ञान, प्रविधि र समाधानको विकासमा सहयोग गर्ने उनको भनाइ थियो ।

उनले सम्मेलन अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गर्ने ठाउँ मात्र नभई एकअर्काबाट सिक्ने, नयाँ विचार आदानप्रदान गर्ने र भविष्यका अनुसन्धानका लागि आधार तयार गर्ने माध्यम भएको बताए ।

‘अहिले गरिएको अनुसन्धानको परिणाम भविष्यमा केही न केही नयाँ कुराको विकासका लागि उपयोगी हुन्छ,’ डंगोलले भने । अनुसन्धानको माध्यमबाट विद्यार्थीमा नयाँ सोचको विकास हुने र उनीहरूको आत्मविश्वास तथा क्षमता अभिवृद्धि हुने उनले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्ने अवसर दिनुका साथै उनीहरूमा नयाँ विषयमा खोज तथा अध्ययन गर्ने रुचि बढाउने डंगोलको भनाइ थियो । अनुसन्धानलाई विद्यार्थीको अध्ययनसँग मात्र नभई समाज र राज्यको आवश्यकतासँग जोड्नुपर्ने उनले बताए ।
‘यस्ता कार्यक्रमबाट विद्यार्थीको मनोबल र क्षमता विकास हुन्छ । यसको प्रभाव विद्यार्थीमा मात्रै सीमित नभई समाज हुँदै राज्यका विभिन्न क्षेत्रमा पुग्न सक्छ,’ उनले भने ।

डा.डंगोलले आगामी वर्ष मिड भ्याली कलेजको सम्मेलनलाई राष्ट्रियबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी रहेको जानकारी दिए । त्यसका लागि स्वदेश तथा विदेशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलाई सहभागी गराउने गरी सम्मेलनको दायरा फराकिलो बनाउने उनले बताए । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानपत्रलाई आगामी महिनामा आर्टिकलका रूपमा प्रकाशन गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए । यसले अनुसन्धानकर्तालाई आफ्नो कामलाई थप व्यवस्थित र व्यापक रूपमा सार्वजनिक गर्ने अवसर प्राप्त हुने उनको भनाइ थियो ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। सतीशकुमार ओझाले विश्वभर प्रविधिको विकास विभिन्न चरण पार गर्दै अहिले तीव्र गतिमा अगाडि बढिरहेको बताए । प्रविधिको विकाससँगै मानिसको काम गर्ने तरिका, व्यवसाय सञ्चालन गर्ने शैली र सेवा प्रवाहको प्रणालीमा समेत ठूलो परिवर्तन आइरहेको उनले बताए ।

ओझाले दिगो विकासका लागि नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गरे । प्रविधिलाई केवल आधुनिकताको प्रतीकका रूपमा नभई उत्पादनशीलता बढाउने, सेवा सहज बनाउने र मानिसको जीवनलाई सरल बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

पछिल्लो समय कृत्रिम बौद्धिकताको विकास निकै तीव्र रूपमा भइरहेको उल्लेख गर्दै उनले एआईको सही सदुपयोग गर्न विद्यार्थी तथा अनुसन्धानकर्तालाई आग्रह गरे ।एआईलाई व्यवसाय, शिक्षा, पर्यटनलगायतका विभिन्न क्षेत्रमा सही ढंगले प्रयोग गर्न सकिने बताउँदै उनले प्रविधिलाई बुझेर त्यसको उपयोग गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

उनले नयाँ काम गर्दा सुरुवाती चरणमा गल्ती हुनु स्वाभाविक भएको बताए । गल्तीबाट सिक्दै निरन्तर प्रयास गरिरहँदा राम्रो परिणाम प्राप्त गर्न सकिने भन्दै उनले विद्यार्थीलाई नयाँ काम गर्न डराउन नहुने सुझाव दिए ।

‘कुनै काम गर्दा सुरुमै सबै कुरा सही हुन्छ भन्ने हुँदैन । गर्दै जाँदा सिकिन्छ र त्यसबाट राम्रो परिणाम निकाल्न सकिन्छ,’ उनले भने । एआईको तीव्र विकासका कारण मानिसको रोजगारी नै समाप्त हुने हो कि भन्ने चिन्ता बढिरहेको भए पनि त्यसबाट अनावश्यक रूपमा डराउनुपर्ने अवस्था नरहेको ओझाले बताए । उनका अनुसार एआईले मानिसलाई पूर्ण रूपमा विस्थापित गर्नेभन्दा पनि मानिसले गरिरहेका कामलाई सहज र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

नर्सिङ, अध्यापन, काउन्सिलिङ तथा यात्रालगायतका क्षेत्रमा मानवीय संवेदना, अनुभव र प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुने भएकाले त्यस्ता कामलाई एआईले पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनले बताए । एआईलाई मानिसको प्रतिस्पर्धीभन्दा पनि सहयोगी प्रविधिका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, सम्मेलनमा आचार्य महेन्द्र वसिष्ठले ‘इन्टररिलेसनसिप बिट्विन स्पिरिचुअल जर्नी एन्ड साइन्टिफिक रिसर्च’ विषयमा प्रस्तुति दिएका थिए । उनले वैज्ञानिक अनुसन्धान र आध्यात्मिक यात्राबीचको सम्बन्धका विषयमा चर्चा गर्दै आधुनिक समाजमा मानिसको मानसिक तनाव र असन्तुलन बढ्दै गएको बताए । पछिल्लो समय समाजमा आत्महत्यालगायतका नकारात्मक घटना बढिरहेको उल्लेख गर्दै उनले मानिसलाई मानसिक रूपमा शान्त र सकारात्मक बनाउन ध्यान तथा मेडिटेसनजस्ता अभ्यास आवश्यक रहेको बताए ।

उनले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई शान्त तरिकाले सामना गर्नुपर्ने बताउँदै मानिसको मानसिक शान्तिका लागि आध्यात्मिक अभ्यास महत्वपूर्ण हुने धारणा राखे । विज्ञान र प्रविधिको विकाससँगै मानिसको आन्तरिक शान्ति र मानसिक स्वास्थ्यलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

वसिष्ठले प्रविधिले मानिसको बाहिरी जीवनलाई सहज बनाए पनि मानिसको आन्तरिक शान्ति कायम राख्न व्यक्तिगत अनुशासन, ध्यान र सकारात्मक सोच आवश्यक पर्ने बताए । आधुनिक प्रविधि र आध्यात्मिक चेतनाबीच सन्तुलन कायम गर्न सके मात्रै मानिसको समग्र विकास सम्भव हुने उनको धारणा थियो ।

सम्मेलनमा विभिन्न अनुसन्धानकर्ताले व्यवसाय, प्रविधि, पर्यटन, वातावरण, डिजिटल वित्तीय सेवा, स्वास्थ्य, यातायात र आतिथ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा ‘इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन टुरिज्म इन्डस्ट्री अफ पोखरा भ्याली’, ‘जियोस्पेसियल एनालाइसिस अफ अर्बन ग्रिन स्पेस डाइनामिक्स इन द काठमाडौं रिङ रोड एरियाः अ मल्टिटेम्पोरल रिमोट सेन्सिङ एन्ड जीआईएस एप्रोच (२०१५/२०२५)’, ‘¥यान्डम फरेस्ट डिटेक्सन अफ लेक सर्फेस वाटर टेम्परेचर प्रोक्सी एनोमालिजिज एट लिमा लेक, नेपाल’, ‘सस्टेनेबल टुरिजम इन नेपाल स् अपर्चुनिटिज, च्यालेन्जेस एन्ड पोलिसी रेकमेन्डेसन’ तथा ‘डिटरमिनेन्ट्स अफ आईपीओ पार्टिसिपेसन अमङ युनिभर्सिटी स्टुडेन्ट्स इन काठमाडौं’ लगायतका विषयमा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो ।

त्यस्तै, इलेक्ट्रिक भेहिकल ब्याट्री, डिजिटल भुक्तानी सेवा, डिजिटल वित्तीय सेवा, सार्वजनिक यातायात, डिजिटल वालेट, डिजिटल साक्षरता, इन्सुरटेक, मेसिन लर्निङ, स्वास्थ्य अभिलेख व्यवस्थापन, डिजिटल स्वास्थ्य, सूचना सुरक्षा तथा गोपनीयता, कर्पोरेट गभर्नेन्स र डिजिटल उद्यमशीलतासम्बन्धी अनुसन्धानपत्रसमेत प्रस्तुत गरिएको थियो । सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा प्रविधि र व्यवसाय क्षेत्रका सरोकारवालाबीच नयाँ प्रविधि, अनुसन्धान र नवप्रवर्तनका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS