काठमाडौं । चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कुल बीमाशुल्क संकलनको अनुपात ३.६९ प्रतिशत पुग्ने अनुमानित लक्ष्य भेट्याउन बीमा कम्पनीले असार महिनामा कम्तीमा ३० अर्ब २७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गर्नुपर्ने भएको छ।
चालू आर्थिक वर्षमा समग्र बीमा क्षेत्रको वृद्धि दर १० प्रतिशतको हाराहारी रहने अनुमानका आधारमा यो लक्ष्य सहजै पुरा गर्न सक्ने देखिएको छ। गत आर्थिक वर्षको असार महिनामा जीवन र निर्जीवन बीमकले कुल बीमाशुल्क २७ अर्ब ६३ करोड ९६ लाख रूपैयाँ संकलन गरेका थिए।
प्राधिकरणले गरेको अनुमान अनुसारको कुल बीमाशुल्क लक्ष्यको सीमा पुरा गर्न अझै १३ प्रतिशत बाँकी छ। जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीले ९३ प्रतिशत लक्ष्य भेट्टाइ सकेका छन्, अर्थात १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा अर्थतन्त्रको आकार गत वर्षभन्दा ४ खर्ब रुपैयाँले बढेर ६१ खर्ब ६ अर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । यो अनुमान यथावत रहँदा प्राधिकरणले अनुमान गरेको योगदान लक्ष्य पुरा गर्न बीमा क्षेत्रले २ खर्ब २५ अर्ब ३१ करोड १४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गर्नुपर्छ।
बीमा कम्पनीले संकलन गर्ने कुल बीमाशुल्कमध्ये ८० प्रतिशत जीवन बीमाको र बाँकी २० प्रतिशत निर्जीवन बीमाको योगदान रहँदै आएको छ। अनुमानित लक्ष्य पुरा गर्न जीवन बीमकले असार महिनामा २४ अर्ब २१ करोड रूपैयाँ र निर्जीवन बीमकले ६ अर्ब ५ करोड ३९ लाख रूपैयाँ संकलन गर्नुपर्ने देखिएको छ।
अन्य महिनाको तुलनामा असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकाले व्यवसायीक लक्ष्य पुरा गरेर अतिरिक्त प्रोत्साहन(रकम र सुविधा)का लागि योग्य हुन अभिकर्ता र कर्मचारी दुबैले भरपुर प्रयास गर्छन् । केही उपाय नलाग्ने बीमितको लागि आफ्नै खल्तीको रकम लगानी गरेरै भएपनि नयाँ बीमालेख जारी गर्छन्।
साथै बितेका वर्षहरूमा अन्य महिनाको तुलनामा असारमा जारी गरिने बीमालेखको संख्या अधिक हुने भएकाले नविकरण बीमाशुल्क संकलन पनि अधिक हुन्। यसबाहेक जीवन बीमकले नविकरण बीमाशुल्क संकलनको लक्ष्य पुरा गर्न व्यतित बीमालेखको पुनर्जागरणमा हर्जाना रकममा छुट, अनलाइन भुक्तानीमा नगद फिर्ता लगायतका योजना समेत लागू गरेकाले नविकरण बीमाशुल्कवापत संकलित रकम पनि अन्य महिनाको तुलनामा बढी हुन्छ।
नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा वृद्धिसँगै बीमा क्षेत्रको योगदान पनि बढ्ने अनुमान गरेको छ। प्राधिकरणले जिडीपी (प्रचलित मूल्यमा) मा गत आर्थिक वर्षको भन्दा केही सुधार हुने अनुमान गरेको हो।
पाँच वर्षयताकै उच्च योगदानः
चालू आर्थिक वर्षमा बीमाशुल्क संकलन अनुपात पछिल्लो पाँच वर्षयताकै उच्च बिन्दूमा हुनेछ।
प्राधिकरणले ५७ औं वार्षिकोत्सवका अवसरमा प्रकाशन गरेको विशेषांकमा उल्लेख भए अनुसार, गत आर्थिक वर्षमा जिडीपीमा बीमाशुल्क संकलनको अनुपात ३ं.४७ प्रतिशत रहेको थियो।
कुल गार्हस्थ्य उत्पादनमा (प्रचलित मूल्यमा) कुल बीमाशुल्क संकलनको अनुपात आ.व. २०७७।७८ देखि आ.व. २०८०।८१ सम्मको क्रमशः ३.५२%, ३.५८%, ३.४१% र ३.४७% रहेको थियो ।
बैंक तथा बीमा क्षेत्रको योगदानः
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा बीमा क्षेत्रको जिडीपीमा समग्र योगदान ६.६५ प्रतिशत रहने अनुमान गरेको छ। साथै कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा अर्थतन्त्रको आकार गत वर्षभन्दा ४ खर्ब रुपैयाँले बढेर ६१ खर्ब ६ अर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।
बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान कार्यालयको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिडीपीमा बैंक तथा वित्तीय क्षेत्रको योगदानर ७.९४ प्रतिशत रहने अनुमान गरेको थियो। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत रह्यो ।