काठमाडौं । नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको तरलता व्यवस्थापनमा सकस परिरहेको छ। गत आर्थिक वर्षदेखि बैंकिङ प्रणाली कर्जाको तुलनामा निक्षेप बढ्दै जाँदा अधिक तरलता थुप्रिएको छ।
अधिक तरलता व्यवस्थापन गर्न गत आर्थिक वर्षदेखि नै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणा प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा झिकिरहेको छ। तर, अधिक तरलता थुप्रिने क्रम जारी रहेसँगै केन्द्रीय बैंकले सकस परिरहेको छ।
केन्द्रीय बैंकले आज साउन २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ३५ दिने निक्षेप संकलन उपकरणको भदौ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

















