आदरणीय पाठक, विज्ञापनदाता तथा शुभचिन्तक महानुभावहरु !
आजभन्दा ८ वर्षअघि एउटा सानो कोठामा बसेर हामीले एउटा सपना देखेका थियौँ, नेपालको बीमा क्षेत्रका हरेक सुस्केरा, सफलता र चुनौतीलाई एउटै चौतारीमा ल्याउने। त्यतिबेला बीमाका कुरा कतै कुनामा खुम्चिएका थिए, बुझ्न कठिन थिए। हामीले तिनै कठिन र ओझेलमा परेका विषयलाई तपाइँको हातसम्म सरल भाषामा पुर्याउने संकल्पका साथ www.insurancekhabar.com को जग बसालेका थियौँ।
आज आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा मेरो मन कृतज्ञताले भरिएको छ। यो ८ वर्ष केवल तथ्यांक र समाचारको सँगालोमात्र नभएर यो त तपाइँ र हामीबीच गाँसिएको अटुट विश्वासको एउटा बलियो त्यान्द्रो पनि हो।
मिडियाको यो भीडमा एउटा विशिष्ट विधा रोज्नु हाम्रा लागि आफैँमा जोखिम थियो। कहिले स्रोत र साधनको अभाव, कहिले प्रविधिको तीव्र परिवर्तन त कहिले नयाँ विषयवस्तुमा पाठकलाई टिकाइराख्ने चुनौती। तर, जब–जब हामी थकाइ महसुस गथ्र्यौं, तपाइँका एउटा सकारात्मक प्रतिक्रिया वा रचनात्मक सुझाव हाम्रा लागि ऊर्जा बनेर आउँथे। तपाइँहरुकै साथले गर्दा नै आज हामी यो स्थानमा उभिन सफल भएका छौँ।
यी ८ वर्षमा हामीले केवल समाचार लेखेनौँ, नेपाली बीमा बजारले लिएको ठूलो फड्कोलाई नजिकबाट नियाल्यौँ। नीतिगत परिवर्तनदेखि डिजिटल क्रान्तिसम्म र गाउँ–गाउँमा पुगेको बीमाको चेतनासम्म । हामी यो परिवर्तनको साक्षीमात्र बनेनौँ, एउटा हिस्सा पनि बन्यौँ।
हाम्रा पाठकवर्गले हामीलाई उर्जा प्रदान नगरेको भए सायद यो यात्रा पहिलो वर्षमै रोकिन सक्थ्यो। तपाइँको समय र भरोसा नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।
हाम्रा विज्ञापनदाता तथा साझेदारहरुले हामीलाई एउटा व्यावसायिक सञ्चारगृहका रुपमा टिकाइराख्न भरथेग गरिरहनुभयो। तपाइँको व्यावसायिक साथले नै हामीलाई निरन्तर अघि बढ्न ढाडस दिइरहेको छ।
यो अवसरमा म इन्स्योरेन्स खबरको बाइलानमा देखिनेदेखि एडिटिङको जिम्मेवारी सम्हाल्नेसम्म, कार्यालयको हिसाबकिताब दुरुस्त राख्नेदेखि लिएर कार्यालय व्यवस्थापन गर्नेसम्म, दिनरात नभनी समाचारको गहिराइ खोज्ने मेरो टिमको मेहनतका लागि पनि साधुवाद।
तपाइँहरुको लगाव नै यो संस्थाको मेरुदण्ड हो।
हामी नवौँ वर्षमा पाइला टेक्दै गर्दा अझ परिष्कृत र अझ जिम्मेवार बन्ने बाचा गर्दछौँ। प्रविधिको प्रयोगसँगै मानवीय संवेदना र सत्यतालाई नमिसिने गरी बीमा क्षेत्रका कथाहरुलाई हामी अझै सशक्त रुपमा प्रस्तुत गर्नेछौँ। नेपालको बीमा क्षेत्रको इतिहास लेखिँदै गर्दा हामी तपाइँकै साथमा रहनेछौँ।
आठ वर्षको यो सुन्दर यात्राका लागि हृदयदेखि नै धन्यवाद। विश्वास छ, अझै सुन्दर दिनहरु आउन बाँकी नै छन्।
सदाझैँ तपाइँको साथको अपेक्षासहित,
अध्यक्ष
क्यापिटल न्युज नेटवर्क प्राइभेट लिमिटेड












