काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अन्ततः सुनसरी घटनाबारे अाफ्नो माैनता तोडेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट विज्ञप्ती जारी भएको केही घण्टापछि मंगलबार मध्यरातमा प्रधानमन्त्री शाहले सार्वजनिक अपिल जारी गर्दै, मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएकाले उत्तेजित हुने वा गराउने कुनै पनि काममा सहभागि नहुन अनुरोध गरेका छन्।
गत अाइतबार राति दुइ समुदायबीच भएको भएको घटनापछि सुनसरी अझै पनि तनावग्रस्त छ। झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा १ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । सुरक्षाकर्मीहरू समेत ८ जना घाइते भएका थिए ।
प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफनो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिने अाश्वासन दिएका छन्। उनले भनेका छन्, ‘त्यति बेलासम्मका लागि आफनो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यहि हो। मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबे काम यथासक्य चाँडो गर्नेछ।’

घटनामा सुरक्षाकर्मीको तर्फबाट अधिक बल प्रयोग भएको प्रति इंगित गर्दै उनले भनेका छन्, ‘सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु।’ उनको यो अभिव्यक्ति गृह प्रशासनको कार्यशैली गलत भएको भन्ने निष्कर्ष सहित अाएको देखिन्छ। उनले घटनाबारेमाअनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने अाश्वासन दिंदै सरकारको उपस्थितिको अनुभूति पीडित परिवारलाइ दिलाउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेनले सुनसरी कप्तानगञ्जको घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको जानकारी गराएका छन्। घटनाको सुरुवातदेखि ने सरकारले आफनो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन्। सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ। तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।
प्रधानमन्त्री शाहले सबै पक्षलाई संयमताका लागि अनुरोध गर्दै भनेका छन्, फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमीत भएर बसों। एकअर्कालाई प्रेम र सम्मान गरों। सामाजिक सदभाव कायम राखों ।












