काठमाडौं । स्थायी लेखा नम्बर लिने करदाताको संख्या करिब पौने ६ लाखले बढेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को चैतसम्मको अर्थ बुटेलिनअनुसार यो ९ महिनामा मुलुकमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५ लाख ७३ हजार ६८२ ले बढेको छ। योसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख ९९ हजार ८१५ पुगेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान), व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या क्रमशः ९१ हजार ७७३, १ हजार ८३९ र ४ लाख ८० हजार ७० ले बढेका छन्। योसँगै बीप्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४, डब्ल्यूप्यान लिनेको संख्या ३५ हजार १६७ र पीप्यान लिनेको संख्या ४७ लाख २८ हजार ७७४ पुगेको छ।
चैतसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ४५ हजार ९७८ र अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार २६४ पुगेको छ।

















