काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख १४ हजार बढी कित्ता शेयर आज चैत २६ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ७ लाख १४ हजार ९५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि कबोल गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको बालुवाटरस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।