काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालन गर्ने शेयर बजार आज बन्द रहने देखिएको छ। वाईकोको डाटा सेन्टरमा समस्या आएपछि आज बजार बन्द रहने भएको हो।
नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा सेन्टर डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको पनि हालसम्म समाधान भइनसकेको नेप्सेले जनाएको छ। यस परिस्थितिमा कारोबार गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले निवेदन पनि दिएको छ।
नेप्सेले आज एक सूचना जारी गर्दै कारोबार स्थगित गरिएको जानकारी गराएको छ।
वाईकोको डाटामा देखिएको प्राविधिक समस्याका कारण नेप्सेको म्याचिङ इन्जिनमा समेत समस्या उत्पन्न भएको छ। यस सम्बन्धमा थप सूचना प्राप्त नभएसम्म आज बजार बन्द रहने नेप्सेले जनाएको छ।
यस हिसाबले नेप्से पूर्ण रुपमा वाईकोको बन्धक बनेको छ। जसका कारण शेयर बजारजस्तो संवेदनशील क्षेत्र आज बन्द रहनेछ।












