काठमाडौं । बंगलादेशमा सोमबार सम्पन्न साफ यु-२० महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले पराजय व्यहोर्नुपरेको छ।
राजधानी ढाकामा भएको खेलमा नेपाललाइ बंगलादेशले घरेलु दर्शक माझ ४-० को फराकिलो अन्तरले पराजित गरेको हो। योसँगै नेपालले उपाधि जित्ने अवसर गुमाएको छ।
बंगलादेशका लागि सोगारिका एक्लैले ४ गोल गरेकी थिइन् । उनी नेपालसँगको पहिलो खेलमा रातो कार्ड खाएर तीन खेलका लागि प्रतिबन्धित भएकी थिइन्।
बंगलादेशी खेलाडीले खेलको शुरूवातदेखि नै नेपाली टोलीलाई दबाबमा पार्न सफल भएका थिए।
नेपाली खेलाडीहरू मैदानमा बल खुट्टामा पार्न र आफ्नो टोलीको खेलाडीलाई पास गर्न निक्कै कठिनाइको सामना गर्नु परिरहेको थियो। अधिकांश समय बंगलादेशले नै नेपाली पोष्ट तिर बल पेलेको थियो।
आजको खेलमा नेपाली खेलाडीहरूमा उर्जाको कमि, विपक्षी टोलीविरूद्धको खेल जित्नका लागि बनाउनुपर्ने मैदान रणनीतिको कमी प्रत्यक्षरूपमा झल्किएको थियो। खेलाडीहरूले विपक्षीबाट बल खोस्न, खोसेको बल आफ्नो टोलीलाई पास गर्न, पास पाएको बल सुरक्षितरूपमा विपक्षीको गोलपोष्ट तर्फ लैजान असफल भएको देखिएको थियो।
दक्षिण एशियाका दुई कमजोर टोली श्रीलंका र भुटानविरूद्धको खेलमा एकतर्फीरूपमा हाबी भएपनि बलियो प्रतिस्पर्धी बंगलादेशविरूद्धको अन्तिम खेलमा नेपाली टोलीको रणनीति र प्रदर्शन दुबै ज्यादै कमजोर रह्यो।

















