काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले एपोलो हाइड्रोपावरको आइपीओ आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन ११ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित नेपालीलाई आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओको निष्कासन बन्द छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गते हुनेछ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीयमा बाँडफाँड गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।
बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीयमा बाँडफाँट गरिनेछ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण शेयर वैदेशिक नेपालीहरुका लागि निष्कासन गरिएको छ।
योे आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानीयले अधिकतममा ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेको नेपालीले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। स्थानीयले ओखलढुंगास्थितत एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु) शिवालय र प्रीति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेस्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुंगा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।












