काठमाडौं । इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को रेटिङ घटाएको छ। इक्रा नेपालले नेपाल रिको इसुअर रेटिङ घटाएर ‘इक्राएनपी आईआर ए माइनस’ रेटिङ प्रदान गरेको हो। यसअघि कम्पनीको रेटिङ ‘इक्राएनपी आईआर ए’ थियो।
नेपाल रिको रेटिङको मुख्य कारकका रुपमा इक्राले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई प्रस्तुत गरेको छ। विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा रहेका करिब ७०० मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको इक्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘भन्सार जाँचपासको पर्खाइमा रहेका सवारीसाधनसँगै निजी तथा व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ’, विज्ञप्तिमा भनिएको छ।
यो बाढीले पुगेको क्षतिका कारण नेपाल रिमा बीमा दाबी बढ्ने इक्राको अनुमान छ। ‘दाबी बढ्दा नेपाल रिको दायित्व पनि बढ्ने छ’, इक्राले भनेको छ।
गत वर्ष भदौको हुलदंगासँग सम्बन्धित दाबीका कारण नेपाल रिको नेटवर्थमा कमी आएको इक्राले उल्लेख छ। ‘हालैको भोटेकोशी बाढीको क्षति दाबीको अन्तिम तथ्यांकले कम्पनीको वित्तीय अवस्था र तरलतामा पर्ने असर निर्धारण गर्नेछ’, इक्राले भनेको छ।
यसैगरी इक्राले ‘वाच विथ नेगेटिभ इम्प्याक्ट’ लाई समेत निरन्तरता दिएको छ।
नेपाल सरकारको ठूलो हिस्सा रहेको नेपाल रिको चुक्तापुँजी करिब १३ अर्ब ४२ करोड रुपैयाँ र नेटवर्थ २० अर्ब ५२ करोड रुपैयाँ रहेको छ।कम्पनीमा नेपाल सरकारको करिब ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीहरुको करिब २७ प्रतिशत, जीवन बीमा कम्पनीहरुको करिब ६ प्रतिशत, सार्वजनिक कम्पनीहरुको करिब ७ प्रतिशत र सर्वसाधारणको करिब १६ प्रतिशत स्वामित्व रहेको छ।












