काठमाडौं । जीवन बीमा कम्पनीले व्यापार गर्नुपर्ने मुख्य समयमै नेपाल बीमा प्राधिकरणको अभिकर्ता इजाजतपत्र अनलाइन परीक्षा प्रणाली ठप्प छ। पछिल्लो ५ दिनदेखि ठप्प परीक्षा प्रणालीको समस्या समाधान गर्न प्राधिकरण नेतृत्व जिम्मेवार देखिएको छैन।
परीक्षा प्रणालीमा देखिएको गडबडीको समस्या समाधानका लागि अनुरोध गर्दै प्राधिकरणको प्रादेशिकदेखि मुख्य कार्यालय धाउने बीमकको प्रतिनिधिले समाधान पाउन सकेका छैनन्। प्राधिकरणको सम्बन्धित विभागका कर्मचारीहरु प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जबाफ दिनबाहेक अन्य कुनै पनि समाधान दिन सक्ने अवस्थामा छैनन्।
जेठ र असार महिनामा नयाँ अभिकर्ता उत्पादन गर्ने र नयाँ व्यवसाय भित्र्र्याउने संवेदनशील र महत्वपूर्ण समय हो। यो समयमा अभिकर्ता उत्पादन गर्ने मुहान नै थुनिएपछि जीवन बीमकको उच्च व्यवस्थापकहरु चिन्तित छन्।
पछिल्लो समयमा जेठको दोस्रो सातामा सञ्चालन गरिएको परीक्षामा पूरा समय वेब क्यामेरा अघि बसेर परीक्षामा सहभागी भएका परीक्षार्थी अभिकर्ताको परीक्षामा सहभागिताको विवरण नै प्राधिकरणको डेटाबेसबाट गायब छ। यसअघिको झैँ प्राधिकरणले परीक्षा रद्द भएको कर्मकाण्डी सूचना जारी गरेर पुनः परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ।
जीवन बीमकका अनुसार परीक्षामा सहभागिताका लागि एउटा बीमकको ५०० देखि २ हजारसम्म आवेदक परीक्षा कुरेर बसेका छन्। परीक्षामा सहभागिताबारे प्राविधिक पक्ष जानकारी नहुँदा परीक्षार्थीहरु बीमकको कार्यालयमा नै उपस्थित भएर परीक्षा दिनुपर्ने बाध्यता छ। घरदेखि टाढा वा जागिरको समय मिलाएर परीक्षामा सहभागि भएर पूरा समय परीक्षा दिएर अधिकांश सही उत्तर छनौट गरेका परीक्षार्थीहरुको विवरण नै प्राधिकरणले आफ्नो डेटाबेसमा फेला पार्न सकेको छैन।
परीक्षामा सहभागी भएका अभिकर्ताले समेत इजाजतपत्र प्राप्त नगरेको गुनासो लिएर बीमकको एजेन्सी विभागका कर्मचारी दिनदिनै प्राधिकरण गएर हारगुहार गर्दा पनि समस्याको सम्बोधन हुन सकेको छैन। तालिममा सहभागी भएर परीक्षाका लागि तयार रहेका आकांक्षीहरु पनि अनलाइन परीक्षामा सहभागिताका लागि पालो कुरेर बसेका छन्।
पीडितहरुका अनुसार परीक्षामा सहभागी हुनुपूर्व प्राधिकरणको परीक्षा पोर्टलमा परीक्षार्थीको विवरण प्रविष्ट गर्नुपर्छ। तर, देशैभरबाट जीवन बीमकको शाखा, उपशाखा र प्रदेश कार्यालयका कर्मचारीले विवरण नै प्रविष्ट गर्न पाएका छैनन्।
प्राधिकरणको वेबसाइटमा प्रकाशित अनलाइन परीक्षासम्बन्धी पछिल्लो सूचनाअनुसार गत जेठ ९ गतेको परीक्षामा प्राविधिक समस्याका कारण परीक्षा स्थगन गरिएको थियो। त्यसअघि जेठ ४ गतेको परीक्षा पनि प्राविधिक कारणले नै स्थगित गरिएको थियो।
प्राधिकरणको वेबसाइटमा प्रकाशित परीक्षा स्थगनसम्बन्धी सूचना केलाउँदा गत वैशाख १४ गते, त्यसअघि २०८१ चैत १३, १४ र २७ गते, फागुन ११, १९ र २० गते, माघ महिनामा २०, २२ र २३ गतेको घोषित परीक्षा स्थगित भएका थिए।
प्राधिकरणको सूचनालाई सामान्य रुपमा केलाउँदा पनि महिनामा कम्तीमा ३ पटकसम्म परीक्षा स्थगन गरिएको छ। प्राधिकरणले ३ लाख रुपैयाँ खर्चेर बनाएको परीक्षा सञ्चालनसम्बन्धी यो सफ्टवेयरमा सुरुआती चरणमै समस्या देखिएको थियो।
स्वास्थ्य बीमा बोर्डको डाटाबेस नै गायब
स्वास्थ्य बीमा बोर्डको डाटाबेसमा पनि गम्भीर त्रुटि फेला परेको छ। चालु आर्थिक वर्ष २०८१।८२ को असारदेखि असोज महिनासम्मको शोधभर्नासम्बन्धी विवरण नै बोर्डको डाटाबेसबाट हराएको छ। सरकारी निकायहरुमा तथ्यांक संग्रह कति असुरक्षित छ भने बोर्डसँग वैकल्पिक भण्डारण ( रिकभरी सेन्टर)समेत छैन।
बोर्डले जेठ ८ गते सार्वजनिक सूचना प्रकाशन गरेर चालु आर्थिक वर्षको असारदेखि असोजसम्मको दाबी भुक्तानी हुन बाँकी विवरण पुनः प्रविष्ट गर्न सेवाप्रदायक स्वास्थ्य संस्थासँग अनुरोध गरेको छ।