काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । आगामी पौष २५ गते निर्वाचन हुने नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको हो । संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ। साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो । यो संस्थाको विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको व्यहोरा समेत स्पष्ट पारेको छ ।
सभाले संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ। आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ ।
अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ। सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको हो ।
साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय भएको छ । साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ ।


















