काठमाडौं । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै दोस्रो बजारमा मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएको छ। लगातारको मूल्य गिरावटसँगै बैंक सूचीकृत १६ वटा विकास बैंकहरूको सेयर मूल्य वरीयतामा सबैभन्दा पुछार अर्थात् १६औँ स्थानमा झरेको छ।
गत भदौ १९ गते मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता गरेको थियो। सम्झौता अगाडि भदौ १८ गते बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३५६.९० रुपैयाँ कायम भई क्षेत्रगत वरीयतामा १४औँ स्थानमा रहेको थियो। सम्झौतापछिको पहिलो कारोबार दिन भदौ २२ गते (सोमबार) नै बैंकको सेयर मूल्य १०.९० रुपैयाँ (३.०५ प्रतिशत) ले घटेर प्रतिकित्ता ३४६.०० रुपैयाँमा झरेको थियो, जसले गर्दा वरीयता १५औँ स्थानमा पुग्यो।
मूल्य घट्ने क्रम यतिमै रोकिएन। भदौ २४ गते बुधबार बैंकको सेयर मूल्यमा थप २७.६० रुपैयाँ (७.९८ प्रतिशत) को उच्च गिरावट आउँदै प्रतिकित्ता ३१८.४० रुपैयाँमा सीमित भएको छ। यस तीव्र गिरावटका कारण मुक्तिनाथ विकास बैंक समग्र विकास बैंक समूहमा सूचीकृत १६ कम्पनीमध्ये सबैभन्दा तल्लो अर्थात् १६औँ स्थानमा खुम्चिन पुगेको छ।













