काठमाडौँ । एसियाका कम्तीमा छ वटा देशका मोबाइल सञ्जाल अपरेटरहरूको आन्तरिक पूर्वाधार कब्जा गरी कल र एसएमएस अवरोध (इन्टरसेप्ट) गर्ने साइबर जासुसी समूह ‘साइलेन्टएयर’ सक्रिय रहेको पत्ता लागेको छ। दूरसञ्चार सुरक्षा कम्पनी ‘एनिया’ को प्रतिवेदनलाई उधृत गर्दै द ह्याकर न्युजले यो समाचार प्रकाशित गरेको हो।
प्रतिवेदनअनुसार उक्त समूहको मुख्य निसाना ताइवानका सर्वसाधारण प्रयोगकर्ता, राजनीतिक व्यक्तित्व तथा सरकारी अधिकारीहरू रहेका छन्। एसएमएसमार्फत आउने दुई-चरण प्रमाणीकरण (२-एफए) कोडहरू कब्जा गर्न र प्रयोगकर्ताको गतिविधि निगरानी गर्न यो समूहले मोबाइल सञ्जालका संवेदनशील प्रणालीको दुरुपयोग गरेको जनाइएको छ।
आक्रमण कसरी गरियो?
मोबाइल सञ्जालहरूमा कल राउटिङ, एसएमएस पठाउने र अन्तर्राष्ट्रिय रोमिङ सुचारु राख्न एसएस७ र डायमिटर जस्ता सिग्नलिङ प्रोटोकल प्रयोग गरिन्छ। यी सन्देशहरू अपरेटरहरूबीचको साझा सञ्जाल आईपीएक्स मार्फत आदानप्रदान हुन्छन्, जुन आपसी विश्वासमा आधारित हुन्छ।
साइलेन्टएयरले प्रभावित दूरसञ्चार सेवाप्रदायकको भित्री उपकरण कब्जा गरी आईपीएक्स इन्टरफेसमा नक्कली ‘अपडेट लोकेसन’ वा सोही स्तरका कमान्ड पठाएको अनुसन्धानमा देखिएको छ। यसरी लक्षित प्रयोगकर्ताको सेवा आक्रमणकारीको नियन्त्रणमा रहेको उपकरणबाट भइरहेको नक्कली दाबी गरिएपछि कल र एसएमएसहरू आक्रमणकारीतिरै मोडिएका थिए। केही घटनामा कल तथा एसएमएस मोडिए लगत्तै दुई-चरण प्रमाणीकरण कोडहरू समेत अवरोध गरिएको पाइएको छ।
‘साइलेन्ट एसएमएस’ र नयाँ संस्करणको प्रयोग
ताइवानका प्रयोगकर्ताहरूलाई लक्षित गरी समूहले ठूलो मात्रामा ‘साइलेन्ट एसएमएस’ पठाएको प्रतिवेदनमा उल्लेख छ। यस्ता सन्देश पठाउँदा प्रयोगकर्ताको फोनमा कुनै घण्टी बज्दैन वा स्क्रिनमा सूचना देखिँदैन। दिउँसोको समयमा यस्ता सन्देश मुख्यतया कल वा एसएमएस मोड्ने प्रयास सफल भयो कि भएन भनेर जाँच्न प्रयोग गरिएको र रातिको समयमा शंका नउब्जियोस् भनेर सामान्य प्रवर्द्धनात्मक वा उत्प्रेरक वाक्यको आवरणमा पठाइएको बताइएको छ। यदि बाटोमा कुनै अपरेटरले सन्देशको ‘साइलेन्ट’ सेटिङ हटाइदिएमा प्रयोगकर्ताले त्यसलाई सामान्य स्पाम ठानेर बेवास्ता गरून् भन्ने उद्देश्य राखिएको थियो।
यसबाहेक, समूहले प्रयोगकर्ताको डेटा बोक्ने ‘जीटीपी-यू’ ट्राफिकभित्र कमान्ड लुकाउने नयाँ संस्करणको संकेत पनि फेला परेको छ, जसको निरीक्षण गर्न प्राविधिक रूपमा अझ कठिन मानिन्छ।
एनियाले सन् २०२५ को सुरुवातदेखि यस्ता गतिविधि निगरानी गर्दै आएको र अझ पहिलेदेखि नै शंकास्पद चलखेल भएको संकेत भेटिएको जनाएको छ। ताइवानबाहेक अन्य दर्जनौँ देश तथा भूभागमा समेत छिटपुट गतिविधि देखिए पनि चिनियाँ सञ्जाल वा प्रयोगकर्तालाई निसाना नबनाइएको, काम गर्ने समय यूटीसी+८ सँग मिल्ने र चिनियाँ बिदाका बेला गतिविधि रोकिएको आधारमा समूह राज्य-प्रायोजित हुन सक्ने उच्च विश्वास र चीनसँगको सम्भावित सम्बन्धबारे न्यून विश्वास व्यक्त गरिएको छ।
सुरक्षा विज्ञहरूले दूरसञ्चार अपरेटरहरूलाई आईपीएक्स सञ्जाललाई अविश्वसनीय मानेर कडा निगरानी गर्न, जीटीपी-सी र जीटीपी-यू फायरवाल लागू गर्न तथा सिग्नलिङ सुरक्षालाई समग्र सूचना प्रविधि सुरक्षा प्रणालीसँग जोड्न सुझाव दिएका छन्।











