- लक्ष्मी केसी
आजको तीव्र गतिमा अघि बढिरहेको जीवनशैलीमा हामी धेरै कुरा योजना बनाउँछौँ– आम्दानी बढाउने, राम्रो शिक्षा दिने, घर बनाउने, व्यवसाय विस्तार गर्ने आदि। तर, यी सबै योजनाको केन्द्रमा एउटा कुरा सधैँ रहन्छ परिवारको सुरक्षा र स्थिरता। यही सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो ‘जीवन बीमा’।
जीवन अनिश्चित छ। कहिले, कहाँ र कसरी अप्रत्याशित घटना घट्छ भन्ने कसैले भन्न सक्दैन। तर, मानिसका जिम्मेवारी भने निश्चित हुन्छन्। छोराछोरीको शिक्षा, परिवारको दैनिक खर्च, स्वास्थ्य उपचार, ऋणको भुक्तानी आदि। यदि परिवारको कमाउने व्यक्ति कुनै कारणले अनुपस्थित भएमा त्यो परिवारमाथि ठूलो आर्थिक संकट आउन सक्छ। यही जोखिमलाई व्यवस्थापन गर्ने भरपर्दो उपाय हो, जीवन बीमा।
बीमा किन गर्ने ?
जीवन बीमा गर्नु भनेको केवल आफ्नो लागिमात्र नभएर आफ्नो परिवारको भविष्य सुरक्षित गर्नु हो। यो एउटा यस्तो व्यवस्था हो, जसले तपाइँको अनुपस्थितिमा पनि तपाइँको जिम्मेवारी पूरा गर्ने काम गर्छ। बीमा बिना परिवार पूर्ण रुपमा कमाउने व्यक्तिमा निर्भर हुन्छ भने बीमा हुँदा त्यो जोखिम धेरै हदसम्म घट्छ। त्यसैले बीमा कुनै विलासिता नभएर आजको आवश्यकता हो।
बीमाले परिवारलाई कसरी सुरक्षा दिन्छ ?
जब कुनै अप्रिय घटना जस्तै– दुर्घटना वा मृत्यु हुन्छ। त्यतिबेला परिवार भावनात्मक रुपमा मात्र नभएर आर्थिक रुपमा पनि कमजोर हुन्छ। जीवन बीमाबाट प्राप्त रकमले यस्तो अवस्थामा ठूलो सहयोग पुर्याउँछ। त्यो रकमले बालबालिकाको शिक्षा, दैनिक खर्च, स्वास्थ्य सेवा तथा अन्य आवश्यकता पूरा गर्न सहयोग गर्छ। यसले परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाइराख्न मद्दत गर्छ र भविष्यप्रति आशा जगाइराख्छ।
थोरै कमाउने र धेरै ऋण हुने व्यक्तिका लागि किन आवश्यक ?
धेरैजसो मानिसले सोच्ने गर्छन्, ‘मेरो आम्दानी त कम छ, म बीमा कसरी गर्ने ?’ तर, वास्तवमा बीमा सबैभन्दा बढी आवश्यक यिनै व्यक्तिलाई हुन्छ। सानो आम्दानी भएको व्यक्तिले पनि सानो प्रिमियमबाट ठूलो सुरक्षा पाउन सक्छ। थोरै रकममा ठूलो जोखिम व्यवस्थापन गर्ने क्षमता बीमामा हुन्छ।
त्यस्तै, यदि कसैसँग धेरै ऋण छ भने उसको अनुपस्थितिमा त्यो ऋण परिवारमाथि बोझ बन्न सक्छ। जीवन बीमाले त्यस्तो अवस्थामा ऋण तिर्न सहयोग गर्छ र परिवारलाई आर्थिक संकटबाट जोगाउँछ। त्यसैले कम आम्दानी र उच्च जिम्मेवारी भएका व्यक्तिका लागि बीमा झन् महत्वपूर्ण हुन्छ।
कर छुटको सुविधा कसरी लिने ?
नेपालमा जीवन बीमामा गरिएको लगानीमा कर छुटको सुविधा पनि पाइन्छ। सरकारले निश्चित सीमासम्मको बीमा प्रिमियममा कर छुट प्रदान गरेको छ। जसले गर्दा बीमा गर्दा बचतमात्र भएर कर व्यवस्थापनमा पनि सहयोग हुन्छ। यसका लागि आफ्नो आम्दानी विवरणमा बीमा प्रिमियम समावेश गर्नुपर्छ र सम्बन्धित कागजात सुरक्षित राख्नुपर्छ। यसरी बीमा गर्दा सुरक्षा र आर्थिक फाइदा दुवै प्राप्त हुन्छ।
बीमा कति गर्ने ?
बीमा कति गर्ने ? भन्ने प्रश्न धेरैले सोध्ने गर्छन्। यसको उत्तर व्यक्तिको आम्दानी, खर्च, पारिवारिक जिम्मेवारी र भविष्यका लक्ष्यमा निर्भर हुन्छ। सामान्य रुपमा वार्षिक आम्दानीको कम्तीमा १० देखि १५ गुणासम्मको बीमा गर्नु उपयुक्त मानिन्छ। यसले गर्दा अप्रत्याशित अवस्थामा पनि परिवारले आफ्नो जीवनस्तर कायम राख्न सक्छ।
अभिकर्ताको भूमिका किन आवश्यक ?
जीवन बीमा केवल कागजमा सीमित कुरा नभएर यो एउटा दीर्घकालीन योजना हो। सही योजना छनोट गर्न, आफ्नो आवश्यकताअनुसार उपयुक्त बीमा छनोट गर्न र दाबी प्रक्रियामा सहजता ल्याउन अनुभवी अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। अभिकर्ताले तपाइँलाई स्पष्ट जानकारी दिन्छ, भ्रम हटाउँछ र आवश्यक पर्दा साथ दिन्छ। त्यसैले बीमा गर्दा विश्वसनीय अभिकर्ता हुनु अत्यन्त जरुरी हुन्छ।
आजको समाजमा बीमाको पहुँच विस्तार हुँदै गएको छ। तर, अझै पनि धेरै मानिस बीमाको महत्वबारे पूर्ण रुपमा जानकार छैनन्। बीमासम्बन्धी सचेतना फैलाउनु, मानिसलाई सुरक्षित भविष्यतर्फ उन्मुख गराउनु र आर्थिक स्थिरता प्रदान गर्नु आजको आवश्यकता हो।
बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य
पछिल्लो समय बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरण आफैँले पनि बीमा सचेतना अभिवृद्धिका लागि गाउँपालिका तथा नगरपालिकामा गएर बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन्। यसले बीमा सचेतना बढेको छ।
यसका साथै अनलाइनमार्फत इन्स्योरेन्स खबरले समाजमा पुर्याएको योगदानको उच्च सम्मान गर्दछु। यस्ता कार्यक्रमले बीमाको महत्वलाई गाउँ–गाउँ र घर–घरसम्म पुर्याउने काम यस अनलाइन पत्रिकाले गरेको छ र मानिसलाई सचेत बनाउँदै सुरक्षित जीवनशैली जिउन प्रेरित गरेको छ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन, आर्थिक रुपमा सक्षम र सुरक्षित नागरिक निर्माण गर्न तथा भविष्यप्रति विश्वास जगाउन यस्ता सचेतनामूलक प्रयासको ठूलो भूमिका हुन्छ। इन्स्योरेन्स खबरले गरेको यो पहल वास्तवमै अनुकरणीय छ र यसका लागि हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।
अन्त्यमा जीवन बीमा कुनै विकल्प नभएर आवश्यक निर्णय हो। आज गरिएको सानो योजना भोलिको ठूलो सुरक्षाको आधार बन्न सक्छ। त्यसैले समयमै सचेत बनौँ र आफ्नो तथा आफ्नो परिवारको भविष्य सुरक्षित गरौँ।
(केसी एलआईसी नेपालमा बीमा सहजकर्ताका रुपमा कार्यरत छिन्।)












