काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका एक बीमितले लामो समयदेखि ल्याप्स(व्यतित) रहेको बीमालेख आफूलाई क्यान्सर रोग लागेको यकीन भएपछि मात्र नविकरण गराउँदा निजको परिवारजनले दुःख खेप्नु परेको छ।
हिमालयन लाइफमा २०७७ साल असोज ३० गते जीवन बीमा गराएका बीमित ब्यास प्रसादको २०७९ पाैष २० गते कालगतिले मृत्यु भएको थियो । मृत्यु दाबी गर्दै उनकी श्रीमति सारदा देवी कुर्मीनले २०८० साउन ५ गते इन्स्योरेन्समा निवेदन दर्ता गराएपनि दाबीवापतको रकम एक पैसा पनि पाइनन् । बीमितले ३ लाख बीमाङ्कको २० वर्षे जीवन बीमा गराएका थिए ।
बीमितले २०७८ असोज ३० गते बीमाशुल्कको दोश्रो किस्ता भुक्तानी गर्नुपर्ने थियो। उनले भुक्तानी गर्न सकेनन् । झण्डै १० महिनापछि २०७९ साल जेठ ३ गते हर्जाना ब्याज सहित बीमाको किस्ता भुक्तानी गरेर बीमालेख पुनर्जागरण गरेर नविकरण गराए । हिमालयन लाइफका अनुसार बीमालेख पुनर्जागरण गर्दा उनले स्वास्थ्य सम्बन्धी घोषणा फाराममा कुनै रोग नरहेको उद्घोष गरेका थिए।
मृत्यु दाबीका कागजातहरू अध्ययन गर्दा नेशनल मेडिकल कलेजबाट जारी भएको हिस्टोप्याथोलोजी रिपोर्ट (Histopathology Report) मा २०७८ चैत २५ गते अर्थात बीमालेख पुनर्जागरण गर्नु ३७ दिन पूर्व नै बीमितलाई क्यान्सर लागेको पुष्टी भएको थियो । रोग पुष्टी भएपछि पनि निजले पुनर्जागरण फारममा गलत उद्घोष गरी बीमाको परम् सद्विश्वासको सिद्धान्त विपरीत बीमालेख पुनर्जागरण गरेको जिकीर लिंदै हिमालयन लाइफले दाबी अस्वीकृत गरिदिएको थियो।
प्राधिकरणको न्यायीक समितिले नेशनल मेडिकल कलेज वीरगञ्जबाट जारी हिस्टोप्याथोलोजी प्रतिवेदनमा क्यान्सर पुष्टी भएको उल्लेख गरिएको र बी.पी. मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको २०७९ बैशाख ५ गतेको यो जोजससँग सम्बन्धित छ, भन्ने पत्रमा क्यान्सर उल्लेख गरेको देखिएको हुँदा निज बीमित बीमा पुनर्जागरण गर्नु अगावैदेखि क्यान्सर रोगको बिरामी भएको पुष्टी भएको प्रमाण सहित परम् सद् विश्वासको सिद्धान्तको उलंघन भएको निष्कर्ष सहित दाबी रद्ध गरिदियो ।
प्राधिकरणको फैसलामा लेखिएको छ, रोगबारे उद्घोष नगरी बीमा पुनर्जागरण गरेको बीमितको कार्य बीमाको परम् सद् विश्वासको सिद्धान्त प्रतिकूल भएकोले दायीत्व बहन गर्न नपर्ने भन्ने बीमकको जिकिरलाई उचित ठहर्याइन्छ।
नेपाल बीमा प्राधिकरणले निर्णय संग्रह नम्बर ९ मा २०८१ साल साउन १० गते गरेको हिमालयन लाइफविरूद्धको उजुरी नम्बर २६३ २०८०/०४/०५ को फैसलाको पूर्ण पाठमा यो विवरण प्रकाशन गरेको छ।


















