काठमाडौं । नेपालको जीवन बीमा बजारमा बीमाबारे स्पष्ट बुझाइ बेगर नै बीमा गराइने प्रवृत्ति र यससँग जोडिएका तथ्याङ्कीय चित्रहरू निकै चिन्ताजनक रहेका छन्।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमालेख समर्पण व्यवहार सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार मानिसहरूलाई बीमाको दीर्घकालीन लाभ, निष्कृय हुँदा हुने नोक्सानी तथा बीमालेख धितो राखेर कर्जा लिन सकिन्छ भन्ने विकल्प (जस्तै ६४.२ प्रतिशतलाई बीमालेख कर्जा) बारे जानकारी नै छैन ।
जसले गर्दा थोरै आर्थिक समस्या पर्नेबित्तिकै उनीहरू महँगो मूल्य चुकाएर बीमा समर्पण गर्न पुग्छन्। नेपालमा करिब १२ लाख १० हजारदेखि १२ लाख ५० हजारसम्म बीमालेखहरू निरन्तर निष्कृयको घेरामा रहने गरेका छन् । मासिक रूपमा हजारौंको संख्यामा बीमालेखहरू समर्पण हुने गरेका छन्।
प्रतिवेदन अनुसार, निष्कृय वा समर्पण हुने बीमालेखहरूमा अधिकांश ३ देखि ५ वर्षभित्रका र विशेष गरी बजारमा अस्थिर आम्दानी भएका युवा पेशाकर्मीहरू, साना व्यवसायीहरू तथा सुरुवाती चरणमै ठूलो बीमाशुल्क आकारका बीमालेख किनेका वर्गहरू बढी प्रभावित रहेको पाइएको छ।
औसत समर्पण मूल्य र निष्कृय बीमाशुल्कको भारले समग्र बीमा क्षेत्रको दीर्घकालीन कोषलाई समेत प्रभावित पारेको छ। बीमालेखहरूको बढ्दो निष्कृयता र समर्पण प्रवृत्तीलाई रोक्न तथा नियन्त्रण गर्न प्रतिवेदनले नीतिगत र व्यावहारिक सुधारका विभिन्न उपायहरू अघि सारेको छ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूले नयाँ बीमालेख जारी गर्नु अघि अनिवार्य रूपमा वित्तीय उपयुक्तता मूल्यांकन लागू गर्नुपर्ने, जसले ग्राहकको वास्तविक आम्दानी र तिर्ने क्षमता हेरेर मात्र बीमा बेचिनेछ।
यसका साथै, बीमितहरूका लागि बीमाशुल्क तिर्न सहज हुने गरी लचिलो उत्पादन संरचना डिजाइन गर्नुपर्ने, अभिकर्ताहरूको गलत रूपमा बीमा बेच्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडा कानुनी र तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
शाखा तहमा नै ग्राहक संरक्षण तथा पुनरुत्थान इकाइु स्थापना गरेर जोखिममा रहेका बीमालेखहरूको निगरानी गर्ने, डिजिटल माध्यमबाट सजिलो नवीकरण प्रक्रिया अपनाउने तथा स्थानीय समुदायमा व्यापक बीमा साक्षरता अभियान सञ्चालन गरेमा मात्र बीमालेख निष्कृय र समर्पण हुने विकृतिलाई प्रभावकारी रूपमा रोक्न सकिनेछ।











