काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले बीमालेख समर्पणबापत १ अर्ब ३० करोड रुपैयाँ बढी बीमितलाई भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमकहरुले साउनमा बीमालेख समर्पणबापत बीमितलाई १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्। यो रकम ७ हजार ४११ वटा बीमालेख समर्पणबापत भुक्तानी दिइएको हो।
अघिल्लो आर्थिक वर्ष २०८२।८३ को साउनमा कम्पनीहरुले ७ हजार ६६६ वटा बीमालेख समर्पण हुँदा बीमितलाई १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको साउनमा बीमालेख समर्पण संख्या ३.३३ प्रतिशत घटेको छ भने समर्पणबापत बाहिरिएको रकम ५.०७ प्रतिशतले बढेको छ।
यसैगरी अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन कम्पनीहरुमा व्यतित बीमालेखको संख्या घटेको छ भने व्यतितबापतको रकम भने बढेको छ। चालु वर्षको साउनसम्म जीवन बीमा कम्पनीहरुले १० लाख २५ हजार ५४८ वटा व्यतित बीमालेखको ३९ अर्ब १४ करोड ६४ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ।
अघिल्लो वर्ष साउनसम्म कम्पनीहरुले १२ लाख २९ हजार ४४६ वटा व्यतित बीमालेखको ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या १६.५८ प्रतिशतले घटेको छ भने व्यतित बीमालेखको रकम ४.६७ प्रतिशतले बढेको छ।












