काठमाडौं । जलवायू तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको अधिकांश भागमा मनसुनी वायूको प्रभावका कारण आइतबार मौसममा बदली देखिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली बाहेकका प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

















