काठमाडौं । जीवन बीमा कम्पनीको प्रति शाखा वार्षिक औसत कुल बीमाशुल्क आम्दानी ८ करोड ५३ लाख ७९ हजार रूपैयाँ देखिएको छ।
गत आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमकले १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख ५४ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए। कुल बीमाशुल्कलाइ कुल शाखा संख्याले भाग गर्दा प्रति शाखा बीमाशुल्क आम्दानी ८ करोड ५३ लाख ७९ हजार रूपैयाँ देखिएको छ।
इजाजत प्राप्त १७ जीवन बीमकको कुल १,८३३ वटा शाखा, उपशाखा कार्यालय सञ्चालनमा रहेको छ।
जीवन बीमकले बागमती प्रदेश अन्तर्गतका शाखाबाट औसत १४ करोड ३२ लाख ३४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । कर्णाली प्रदेशबाट प्रति शाखा अाैसत ३ करोड ८७ लाख ५१ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवमा जीवन बीमकको प्रति शाखा औसत प्रथम बीमाशुल्क संकलन १ करोड ८८ लाख ३१ हजार ९४२ रूपैयाँ रह्यो। बीमकको शाखा, उपशाखा कार्यालयले औसतमा ६ करोड ६५ लाख ४७ हजार ९०१ रूपैयाँ नविकरण बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९।८० मा औसत कुल बीमाशुल्क संकलन ५ करोड ८ लाख २३ हजार रूपैयाँ रहेको थियो। जीवन बीमकको प्रति शाखा औसत प्रथम बीमाशुल्क संकलन १ करोड ११ लाख ५२ हजार ६४६ रूपैयाँ रहेको थियो। सो वर्ष कुल शाखा संख्या २,८०९ रहेको थियो।