काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पहिलो चरणमा बिक्री गरिरहेको आइपीओमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले असार २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ निष्कासको अनुमति दिएको छ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ३१ हजार कित्ता शेयर जारी गर्नेछ।
संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २३ हजार १०० कित्ता आइपीओ जारी गरेको हो। यो आइपीओमा उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखा तथा सीडीएससीको मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्।
संस्थाले दोस्रो चरणमा कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सुरक्षित गरी बाँकी सर्वसाधारणका लागि जारी गर्नेछ। संस्थाको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

















