काठमाडौं । नेपाल कोर एफएचआईआर निर्देशिका कार्यान्वयन गर्न ६ बुँदे निर्देशन जारी गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरोकारवाला निकाय तथा संस्थाका लागि नेपाल कोर एफएचआईआर निर्देशिका कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो। यो निर्देशन मातहतका निकाय प्रदेश स्वास्थ्य मन्त्रालय, स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य एवं ईएमआर तथा एचआईएस सेवा प्रदायकहरुलाई कार्यान्वयन गर्न भनिएको छ।
मन्त्रालयको गत असोज २० गतेको मन्त्रीस्तरीय निर्णयानुसार ‘नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका संस्करण १.०.०“ राष्ट्रिय मानकका रुपमा स्वीकृत भई कार्यान्वयनमा रहेको छ।
उक्त निर्देशिकाले नेपालका स्वास्थ्य संस्थाहरुमा सञ्चालित विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) तथा अस्पताल सूचना प्रणालीहरुबीच बिरामीको विवरण आदान–प्रदान गर्ने साझा राष्ट्रिय मानक (क्तबलमबचम) निर्धारण गर्दछ। यसमा बिरामी, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, सेवा भेट, रोग, प्रयोगशाला, औषधि, खोप तथा प्रेषणसम्बन्धी ढाँचा, नेपालको संघीय भूगोल र राष्ट्रिय पहिचान प्रणालीहरु समेटिएका छन्।
यस्ता छन् निर्देशन
- औषधि व्यवस्था विभागले राष्ट्रिय औषधि संकेत सूची प्रकाशन गर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणहरुको राष्ट्रिय सूची तयार गरी अन्तर्राष्ट्रिय एलओआईएनसी संकेतसँग आवश्यकतानुसार मानचित्रण गर्ने।
- औषधि व्यवस्था विभागले राष्ट्रिय औषधि संकेत सूची प्रकाशन गरेपछि सो प्रकाशन भएको ३ महिनाभित्र सबै स्वास्थ्य संस्था तथा सेवा प्रदायकले आफ्नो प्रणालीको औषधि तथ्यांक सोहीअनुसार मानचित्रण गर्ने।
- सबै सरकारी तथा निजी स्वास्थ्य संस्थाले आफ्नो ईएमआर तथा एचआईएसलाई निर्देशिकाअनुरुप स्तरोन्नति गर्ने ।
- सबै ईएमआर तथा एचआईएस सेवा प्रदायकले यो परिपत्र प्राप्त भएको मितिले ६ महिनाभित्र आफ्नो प्रणाली उक्त निर्देशिकाअनुरुप बनाई मन्त्रालयले उपलब्ध गराउने अनुपालन परीक्षण उपकरण प्रयोग गरी आफ्नो प्रणालीको परीक्षण गराउने, एनपी कोर क्रिएटरको दायित्वअनुसार मस्ट सपोर्ट फिल्ड्स पूरा गर्ने र एफएचआईआर आर४ एआईपी कार्यान्वयन गर्ने।
- प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्रका स्वास्थ्य संस्थाहरुमा यस मानकको कार्यान्वयनका लागि आवश्यक समन्वय तथा अनुगमन गर्ने।
- कार्यान्वयनको अवस्थासम्बन्धी प्रगति विवरण प्रत्येक त्रैमासिक रुपमा यस मन्त्रालयमा पठाउने।












