काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रममा घरबाटै अनलाइनमार्फत नयाँ आबद्धता र नवीकरण गर्न सकिने भएको छ।
स्वास्थ्य बीमा बोर्डले एचआईबी ई–पोर्टलमार्फत अनलाइन आबद्धता तथा नवीकरण प्रणालीको सुरुआत गरेको हो। यो प्रणाली बीमा बोर्डबाट ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३ बमोजिम कार्यान्वयनमा ल्याइएको हो।
यो प्रणाली राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरी तयार गरिएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले ‘म्यानुअल’ रुपमा समेत डिजिटल विवरण पेस गर्न सक्नेछन्।
आबद्धता तथा नवीकरणका लागि हाल ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत सजिलै स्वास्थ्य बीमा प्रिमियम भुक्तानी गर्न सकिने बीमा बोर्डले जनाएको छ। यस प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।
विगत स्वास्थ्य बीमा गरिसकेका परिवारले पनि परिवार मूलीको स्वास्थ्य बीमा नम्बरमार्फत यस प्रणालीमा जोडिएर केवाईसी अपडेट तथा नवीकरण गर्न सक्ने बीमा बोर्डले जनाएको छ। यसका साथै कार्यालय वा संगठित क्षेत्रबाट बल्क इनरोलमेन्ट तथा बल्क रिन्युअल, जिल्ला तथा प्रदेशबाट प्रमाणीकरण तथा स्वीकृतिको व्यवस्था गरिएको र स्वीकृतिपश्चात डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुने बोर्डको भनाइ छ।
बीमा बोर्डका अनुसार विद्युतीय प्रणालीको कार्यान्वयनसँगै स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरण प्रक्रिया थप सहज भई सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाह पारदर्शिता अभिवृद्धि हुने अपेक्षा छ। यसका साथै केवाईसी अपडेटमार्फत बीमितको पुरानो विवरण अद्यावधिक तथ्यांकको शुद्धता अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने बोर्डले जनाएको छ।












