काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि ३ जनाको नाम सरकारसमक्ष सिफारिस गरिएको छ।
डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल गत कात्तिक २५ गतेबाट पूरा भएको थियो। कार्यकारी निर्देशकको पद रिक्त रहेको ३ महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित सिफारिस समितिले माघ २४ गते एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियोे। दरखास्त पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको थियो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार समितिले दाङको घोराही–१५ का कमल पन्थी, काठमाडौंको काठमाडौं–४ का डा कृष्णप्रसाद अधिकारी र तनहुँको व्यास–५ का डा रघुराजन काफ्लेको नाम कार्यकारी निर्देशनमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। समितिले फागुन १९ गते लोकसेवा आयोगमा लिएको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि यी ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पन्थी, अधिकारी र काफ्लेसँगै गंगप्रसाद जोशी, डा प्रमोदकुमार यादव, रामप्रताव यादव, रामप्रसाद पौडेल, शम्भुप्रसाद ज्ञवाली, डा सागरकुमार राजभण्डारी र होमनाथ न्यौपानेलाई डाकेको थियो।
समितिले खुला प्रतिस्पर्धाबाट स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशकको नियुक्ति गर्न लागेको हो। अब सिफारिस गरिएकोमध्ये १ जनालाई मन्त्रिपरिषदले कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।