- प्रेम वली
नेपालको शेयर बजार आज केवल अंकको खेलमात्र नभएर लाखौँ सर्वसाधारणको मेहनत, बचत र भविष्यसँग जोडिएको विषय बनेको छ। तर, दुर्भाग्यवश लगानीकर्ताले लामो समयदेखि सरकार र सम्बन्धित निकायबाट आफूहरुलाई प्राथमिकतामा नराखिएको महसुस गरिरहेका छन्।
धेरै लगानीकर्ताको बुझाइमा सरकारले शेयर बजार र लगानीकर्तालाई आफ्नै सन्तान होइन ‘शौतेनी आमा र उनका सन्तान’जस्तो व्यवहार गरिरहेको देखिन्छ। बाहिरबाट हेर्दा बजारप्रति चासो देखाएको जस्तो देखिए पनि व्यवहारमा भने विश्वास जगाउने ठोस निर्णय र नीतिगत सुधारको अभाव महसुस गरिएको छ। यदि सरकार, अर्थ मन्त्रालय र सम्बन्धित नियामक निकाय साँच्चिकै बजारप्रति प्रतिबद्ध भएर सक्रिय रुपमा लागेका भए, बजारले यति ठूलो क्षति बेहोर्नुपर्ने अवस्था सायद आउने थिएन।
हालै सार्वजनिक मौद्रिक नीतिको तयारी र निर्माणका क्रममा पनि धेरै लगानीकर्ताले आफ्ना आवाज र सुझावको उचित सुनुवाइ नभएको गुनासो गरेका छन्। त्यसैले अहिले धेरैको मनमा एउटा प्रश्न उठेको छ– के सरकारले शेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको छ कि अझै पनि शंकाको दृष्टिले मात्र हेरेको छ ?
विडम्बना त के छ भने यही देशका नागरिकले मतदान गरेर बनाएको सरकारले नै आफ्नै लगानीकर्ताको आत्मविश्वास कमजोर बनाउने वातावरण सिर्जना गर्ला भन्ने कल्पना धेरैले गरेका थिएनन्। संसारका अधिकांश मुलुकमा पूँजी बजारलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा संरक्षण र प्रोत्साहन गरिन्छ। नेपालमा भने त्यसको विपरीत अनुभूति भइरहेको छ भन्ने धारणा बलियो बन्दै गएको छ।
यद्यपि, पछिल्ला दिनहरुमा प्रधानमन्त्रीबाट शेयर बजारप्रति देखिएको चासोले लगानीकर्तामा केही आशा अवश्य जगाएको छ। तर, केवल अभिव्यक्ति र आश्वासनले मात्र पुग्दैन। विश्वास फर्काउने काम शब्दले मात्र नभएर नीतिगत निर्णय र व्यवहारले गर्छ।
अब सबैको नजर बजारतर्फ छ। प्रधानमन्त्रीको चासोले लगानीकर्ताको आत्मविश्वास बढाउँछ कि बढाउँदैन, त्यसको उत्तर कुनै भाषणले होइन, बजारले नै दिनेछ। विशेष गरी भोलिको कारोबारले लगानीकर्ताको मनोविज्ञान कता मोडिन्छ भन्ने संकेत दिनेछ।
शेयर बजारमा विश्वास पुनःस्थापित गर्न सरकारले अब स्पष्ट नीति, स्थिर दृष्टिकोण र लगानीकर्तामैत्री निर्णयमार्फत ठोस सन्देश दिनैपर्छ। यही आजको सबैभन्दा ठूलो आवश्यकता हो।
(लेखक वली लामो समयदेखि शेयर बजार सक्रिय लगानीकर्ताका रुपमा रहेका छन्।)












