काठमाडौं । नेपाल राष्ट्र बैंकबाट शुक्रबारदेखि गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन् ।
बालुवाटारस्थित केन्द्रीय बैंकमा पत्रकार सम्मेलनको आयोजना गरी गभर्नर अधिकारी राष्ट्र बैंकबाट बिदा भएका हुन्। सरकारले २०७६ चैत २४ गते अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। उनी आजबाट औपचारिक रुपमा बिदा भएका छन्।
पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले आफ्नो पाँचवर्षे कार्यकालमा गरेका काम–कारबाहीका बारेमा जानकारी गराएका थिए। उनले आफ्नो कार्यकालमा गरेका प्रमुख कार्य तथा उपलब्धिहरुको पुस्तक (दस्तावेज) नै सार्वजनिक गरेका थिए।
बिदाइ कार्यक्रममा गभर्नर अधिकारीको मन्तव्य
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले मुलुकको मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्ने र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई सुम्पिएको छ। उक्त जिम्मेवारी पूरा गर्न बैंकले मौद्रिक नीति, नियामकीय नीति, विदेशी विनियम नीतिलगायतका नीतिगत व्यवस्था तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। वित्तीय स्थायित्व कायम गर्नका लागि बैंकले विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्दै वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै लगेको छ।
नेपाल राष्ट्र बैंकले उपरोक्त जिम्मेवारी निर्वाह गर्दै जाने यात्रामा वि.सं. २०७७ देखि २०८१ सम्म सत्रौं गभर्नरको रुपमा यस गरिमामय संस्थाको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो। सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वब्यापी कोभिड महामारीका कारण अधिकांश आर्थिक गतिविधि प्रभावित भई नेपाललगायत विश्व अर्थतन्त्र उल्लेख्य रुपमा सङ्कुचन हुन पुगेको थियो। उक्त महामारीबाट पुनरूउत्थान नहुँदै रुस र युक्रेनबीचको तनावका कारण सिर्जित उच्च मूल्यवृद्धिको सामना गर्नुप¥यो। यस्तो असहज एवम् चुनौतीपूर्ण समयमासमेत यस बैंकले लिएको सजग एवम् उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको छ। संक्रमणको त्रास सँगसँगै यस बैंकको सञ्चालक समिति र समस्त कर्मचारीको सक्रिय भूमिकाबाट बैंकको काम कारवाहीलाई सदैव निरन्तरता दिन सम्भव भएको छ। असहज अवस्थामा समेत यस बैंकको निर्देशनलाई पालना गरी बैंकिङ क्षेत्रले आफ्नो सेवालाई कायम राखेका छन्। पछिल्लो समयमा बाह्य क्षेत्र सुदृढ बन्दै गएको छ भने मूल्यमा सिर्जना भएको दबाब विस्तारै कम भई मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यभित्रै रहेको छ।
कानुनबाट प्रदत्त जिम्मेवारी पूरा गर्ने तथा बैंकको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विगत पाँच वर्षको अवधिमा महत्वपूर्ण सुधारका काम सम्पन्न भएका छन्। मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ। वित्तीय क्षेत्रको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गरी सम्पत्ति शुद्धीकरण तथा साइबर सुरक्षासम्बन्धी सुपरिवेक्षण, भुक्तानी प्रणालीमा संलग्न संस्थाको निगरानी, गैर बैंक वित्तीय संस्थाको सुपरिवेक्षण लगायतका अवधारणासमेतका आधारमा वित्तीय संस्थाको निरन्तर सुपरिवेक्षण÷निगरानी गरिदै आएको छ। बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको छ। फिनटेक कम्पनीहरुको लगानी, भुक्तानी सेवासँग सम्बन्धित संस्थाहरु, बैंक वित्तीय संस्थाको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याइदिएको छ। वित्तीय समावेशिता प्रवद्र्धन गर्दै वित्तीय ग्राहक संरक्षण तथा जनचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको छ।
यस अवधिमा बैंकको कार्यलाई आधुनिक, व्यवस्थित तथा थप प्रभावकारी बनाउनका लागि विभिन्न नीतिगत, संस्थागत एवम् प्रक्रियागत सुधार भएका छन्। सेवा प्रवाहलाई छरितो तथा प्रभावकारी बनाउन उपयुक्त जनशक्ति भर्ना गर्दै बैंकका अधिकांश कामकारबाहीलाई प्रविधिमा आधारित बनाइएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकको वित्तीय स्थितिमा पनि उल्लेख्य सुधार भएको छ। लगानी विविधिकरण, सिफ्टमा कामकाज गर्ने परिपाटीको सुरुवातको कारण बैंकको आयमा थप वृद्धि भएको छ। विगत चार वर्षको बैंकको लेखापरीक्षण तोकिएको समयमा नै सम्पन्न गरी वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्न सकिएको छ। बैंकको भौतिक निर्माणको पक्षमा प्रगति भएको छ भने अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन थप प्रयासहरु गरिएका छन्।
नेपाल राष्ट्र बैंकले विगत पाँच वर्षमा सम्पादन गरेका कार्यहरुलाई एकीकृत गरी संस्थागत स्मृतिको रुपमा राख्ने प्रयोजनसहित यो दस्तावेज तयार पारिएको हो। विगतमा बैंकको कामकारवाही समेटिएका विभिन्न दस्तावेज प्रकाशन भएको भएता पनि यस्तो प्रकृतिको प्रकाशनको यो सुरुआत हो। यसमा बैंकले विगतदेखि गर्दै आएका विभिन्न नीतिगत तथा संस्थागत व्यवस्थामा गरिएका संशोधन÷सुधार तथा विगत पाँच वर्षमा भएका महत्वपूर्ण कार्य र सुरुआतको विवरण समेटिएको छ। यो प्रकाशन आगामी दिनमा बैंकले लिने नीतिगत व्यवस्था तथा प्रक्रियागत सुधारका सवालमा उपयोगी हुने तथा आम सरोकारवालालाई अर्थतन्त्रको सुधारका लागि बैंकले गरेका महत्वपूर्ण कार्यको जानकारी लिने र सुसूचित हुने स्रोत बन्नेछ भन्ने विश्वास मैले लिएको छु।
यस अवसरमा, नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको नेतृत्वको अवसर प्रदान गर्नुहुने नेपाल सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। विगत पाँच वर्षमा बैकद्वारा विभिन्न कार्य सम्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको सञ्चालक समिति, डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशक, निर्देशक लगायत बैंकका सम्पूर्ण कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ। बैंकको कामकारबाहीमा निरन्तर सहयोग गर्ने बैंक तथा वित्तीय संस्था, नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य सरकारी निकाय, सम्मानित महालेखापरीक्षकको कार्यालय, सम्मानित आयोगहरु, नेपाली सेना, नेपाल प्रहरी, निजी क्षेत्रका संघसंस्था, सञ्चार क्षेत्र, प्रबुद्ध वर्ग, विदेशी केन्द्रीय बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र सर्वसाधारण सबैमा धन्यवाद ज्ञापन गर्दछु।
साथै, बैंकमाथि आइपरेको प्रतिकुल अवस्थामा समेत बैंकको स्वायत्तताको पक्षमा वकालत गरी बैंकको गरिमालाई अक्षुण राख्न सहयोग गर्नुहुने पूर्व गभर्नरज्यूहरु, विद्वान अर्थशास्त्रीज्यूहरु, लब्धप्रतिष्ठित व्यक्तिहरु र सञ्चार जगतप्रति आभार व्यक्त गर्दछु।
अन्तमा, यो दस्तावेज तयार पार्न सूचना, तथ्याङ्क र विवरण प्रदान गरी सहयोग गर्ने सम्पूर्ण विभाग, कार्यालय, महाशाखा, इकाइलाई धन्यवाद दिन चाहन्छु। यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गभर्नरको कार्यालयका उपनिर्देशक सिद्ध राज भट्ट, सहायक निर्देशक पुष्प चन्द्र खनाल, सहायक निर्देशक प्रतिमा अधिकारी र कम्प्युटर अधिकृत अमन लाल श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु। दस्तावेज तयारीको क्रममा सम्पादकीय कार्यमा भूमिका निर्वाह गर्नुहुने गभर्नरको कार्यालयका का.मु. कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल र निर्देशक र सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालाई समेत धन्यवाद दिँदै दस्तावेज तयारीका क्रममा सुझाव प्रदान गर्नुहुने र भाषा सम्पादनमा सहयोग गर्नुहुने बैंकका कार्यकारी निर्देशक तथा निर्देशकलगायत सम्बन्धित सबैप्रति आभार व्यक्त गर्न चाहन्छु।
Major-Activities-of-Nepal-Rastra-Bank