काठमाडौं । सयपत्री हाइड्रोपावरद्वारा बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण कार्य बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी सयपत्री हाइड्रोपावर लिमिटेडले असोज ९ गते शुक्रबार दरम खोलामा आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुर्याएको जनाएको हो ।
बाढीले संरचनामा क्षति पुर्याएपछि असोज ९ गते राति ११ बजेदेखि आयोजनाको विद्युत उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएको छ।
बाढीका कारण विद्युत सेवा अवरुद्ध हुनुका साथै असोज १० गते बेलुकी ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार माध्यमका टावरहरू समेत ठप्प भएको बताइएको छ । नेपाल टेलिकम तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा आयोजनास्थलमा रहेका कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको कम्पनीको भनाई छ ।













