काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म ३ अर्ब १९ करोड रुपैयाँ बढी भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखिएको हो। जेठसम्म ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २५ लाख ४० हजार ९५८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब १९ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३०.८९ प्रतिशत देखिएको छ। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म ९८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ८९ करोड ५८ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २८.०६ प्रतिशत रहेको छ।
त्यस्तै तेस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ७.१० प्रतिशत रहेको छ। कम्पनीले जेठसम्म २२ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
चालु आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर आइएमई लाइफले २२ करोड ५० लाख रुपैयाँ (७.०५ प्रतिशत), नेसनल लाइफले १८ करोड ३ लाख रुपैयाँ (५.७५ प्रतिशत), सानिमा रिलायन्स लाइफले १५ करोड ७६ लाख रुपैयाँ (४.९४ प्रतिशत), सिटिजन लाइफले १३ करोड ६९ लाख रुपैयाँ (४.२९ प्रतिशत), प्रभु महालक्ष्मी लाइफले १२ करोड ६१ लाख रुपैयाँ (३.९५ प्रतिशत), सूर्यज्योति लाइफले ११ करोड १ लाख रुपैयाँ (३.४५ प्रतिशत) र रिलायबल नेपाल लाइफले १० करोड ६५ लाख रुपैयाँ (३.३४ प्रतिशत) कुल बीमा शुल्क आर्जन गरेका छन्।
यसैगरी वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले २ करोड ३८ लाख रुपैयाँ (०.७५ प्रतिशत), हिमालयन लाइफले ८९ लाख ८० हजार रुपैयाँ (०.२८ प्रतिशत), गार्डियन माइक्रो लाइफले ४० लाख ३९ हजार रुपैयाँ (०.१३ प्रतिशत) र क्रेस्ट माइक्रो लाइफले ११ लाख २४ हजार रुपैयाँ (०.०४ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेको छ।


















