काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा बिरामी भई कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका सन्ततिका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले छात्रवृत्ति आवेदन आह्वान गरेको छ। बोर्डको सचिवालयले चालु आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक योजना, कार्यक्रम तथा बजेट अनुसार शुक्रबार सूचना प्रकाशित गरी निवेदन माग गरेको हो।
नेपालका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा पूर्व प्राथमिक तह (नर्सरी वा सो सरह) देखि कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका बालबालिका यस छात्रवृत्तिका लागि योग्य हुनेछन्। निवेदन दिने अन्तिम मितिसम्म शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका सन्ततिलाई मात्र छात्रवृत्ति उपलब्ध गराइने सूचनामा उल्लेख छ।
बोर्डका अनुसार आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई वार्षिक रूपमा रू. १२ हजार र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई वार्षिक रूपमा रू. १६ हजार प्रदान गरिनेछ। यो रकम एकमुष्ट रूपमा विद्यार्थी वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खातामार्फत उपलब्ध गराइनेछ। एउटा कक्षामा एक पटकका लागि मात्र छात्रवृत्ति पाइनेछ र कक्षा दोहोरिएको हकमा रकम उपलब्ध हुने छैन। कागजात पूर्ण भई प्राप्त भएका बखत नै सचिवालयबाट रकम भुक्तानी गरिनेछ।

नियमित छात्रवृत्ति पाइरहेका विद्यार्थीका लागि छात्रवृत्ति प्राप्तिको निवेदन, श्रमिकको राहदानीको प्रतिलिपि, अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिश, स्थानीय तहको सिफारिश र विद्यार्थी वा अभिभावकको चालु बैंक खाता (चेकको प्रतिलिपि) पेश गर्नुपर्नेछ। आ.व. २०८३।०८४ मा पहिलो पटक आवेदन दिने विद्यार्थीका लागि यी कागजातका अतिरिक्त मृतक श्रमिकको परिवारजनको हकमा मृत्युदर्ताको प्रमाणपत्र वा बिरामी वा अंगभंगको हकमा मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्र, विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि तथा श्रमिक, अभिभावक र विद्यार्थीको नाता खुल्ने नाता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
छात्रवृत्तिका लागि निवेदन पेस गर्ने अन्तिम म्याद २०८३ फागुन मसान्त तोकिएको छ। विद्यार्थी तथा अभिभावकले स्थानीय तहको रोजगार सेवा केन्द्रमा रोजगार संयोजकसँगको समन्वयमा आवश्यक कागजात तयार गरी फोरेन इम्प्लोयमेण्ट वेलफेयर इन्फरमेशन म्यानेजमेण्ट प्रणालीमार्फत बोर्डको सचिवालयमा पठाउनुपर्नेछ। स्थायी ठेगानाभन्दा बाहिर अध्ययनरत विद्यार्थीले नाता प्रमाणित लगायत वडा कार्यालयबाट गर्नुपर्ने कागजात आफ्नै स्थानीय तहबाट बनाई निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
विद्यालयले योग्य विद्यार्थीको निवेदन ग्रहण गरी कक्षा खुलाई सिफारिस प्रदान गर्नुपर्नेछ भने स्थानीय तहले विद्यालयको सिफारिसका आधारमा फागुन मसान्तभित्र ँभ्ध्क्ष्ःक् प्रणालीमा आवेदन प्रविष्ट गराइसक्नुपर्नेछ। तोकिएको म्यादभित्र प्रणालीमा प्रविष्ट भइसकेका आवेदनलाई मात्र छात्रवृत्ति उपलब्ध गराइने सचिवालयले जनाएको छ।
थप जानकारीका लागि श्रमाधान कल सेन्टरको निःशुल्क नम्बर ११४१ वा वैदेशिक रोजगार बोर्डको सचिवालयको फोन नम्बर ०१ ५३२०३११/४३३/५६७ मा सम्पर्क गर्न सकिनेछ।











